अनशनकारी थापालाई पनि काठमाडौँ ल्याइयो

4.64K
shares

भद्रपुर । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको छ।

नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको थियो। इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बसेका काठमाडौँका विद्यार्थी थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो। झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए। अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। दुबैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ ल्याउने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ उडेको थियो। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083