राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

4.49K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ। नेपाली काँग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

काँग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर आधाघण्टा पछि सुरु भएको दोस्रो बैठक सुरु हुनवित्तिकै काँग्रेस सांसदहरुले फेरी उभिएर बैठक अवरुद्ध पारेका थिए। उनीहरुले बैठकको कार्वाही अघि बढाउन बसेर सहयोग गरिदिन पटकपटक आफूले गरेको आग्रह गरेपनि बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचि हटाएका थिए।

सोमबार राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘जेष्ठ नागरिकसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो।

त्यसैगरी संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन ९नियमन गर्ने० विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्ताव माथि सामान्य छलफल गर्ने तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो।

तर काँग्रेस संसदहरुले उठेर अवरोध गरेपछि सबै कार्यसूचि हटाइएको व्यहोरा राष्ट्रियभासका अध्यक्ष तिमिल्सिनाले सदस्यहरुलाई जानकारी गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तनहुँमा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला क्यान्सर अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083