‘हिजो एम्बुस थाप्न सजिलो देख्ने खोलामा आज विजुली मात्रै देख्छु’ : उर्जामन्त्री पुन

6.9K
shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी सरकारले काम अघि बढाएको बताएका छन् । उनले सरकारको पहिलो प्राथमिकता दोहोरो हंकको आर्थिक वृद्धि रहेको बताउँदै त्यसअनुरुप आवश्यक पर्ने विजुलीको उत्पादन पनि गर्नुपर्ने बताए ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान सबै खालमा ऊर्जा संकट समाधान हुने दावी गरे ।

उनले भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको तथ्यांक पेश गर्दै यो वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गरे । पुनले नेपाललाई समृद्ध बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै अबको १० वर्षमा १७ सयबाट बढेर १० हजार चाटर्ड एकान्टेन्टले नेपालमै काम पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री पुनले आफ्नो पदमा रहँदा देखिएका सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।

‘हिजो म सानो छँदा खोलालाई पौडी खेल्ने ठाउँ मान्थे, युवा भएपछि माछा मार्ने ठाउँजस्तो लाग्थ्यो,’ उनले विगत स्मरण गरे,’युद्धमा होमिँदा खोला भनेको शत्रुलाई एम्बुसमा पार्न सजिलो हुने ठाउँका रुपमा देख्थेँ, नेताका रुपमा लगानी गर्ने स्थल जस्तो लाग्थ्यो, आज ऊर्जा मन्त्रीका रुपमा म खोला तथा नदीमा विजुली मात्रै देख्छु ।’

उनले सोच र दृष्टिकोणलाई बदलेर सबै शक्ति राष्ट्र विकासमा लगाउनुपर्ने बताए । उनले निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै कम्युनिष्ट पार्टी भनेर नतर्सन आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083