अनसनरत डा. केसीलाई गणेशमान सिंह भवनमा सारियो
वि.सं.२०७५ माघ ८ मंगलवार १३:२१
shares

काठमाडौँ । अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि. शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गए पछि डा. केसीलाई नाँक—काँन—घाँटी विभागमा सारिएको हो ।
सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए । सोही कोठामा डा.केसीले १६ औं अनसनलाई निरन्तरता दिनेछन् ।
१५ औं अनसनमा सरकार र केसी बीच भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले इलाममा एक सर्वसाधरणको घरमा पुस २५ गते अनसन थालेका थिए । तर अनसन थालेको ३ दिनमानै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गएको शुक्रबार बिहान ३ बजे त्रि.वि. शिक्षण अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो ।
आईसीयूको ३ दिनको उपचार पछि डा. केसीलाई आईतबार साँझ अस्पतालको वार्डमा सारिएको थियो । अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि गणेशमान भवनमा सारिएको केसीका सहयोगीहरुले जनाएका छन् । यस्तै केसीको विपक्षमा अनसन बस्दै आइरहेका विजय थापालाई पनि सोही भवनमा सार्ने तयारी भइरहेको छ ।




























