दर्जा ड्राइभर : थुनाबाट छुटाउन करोडौं रकमको चलखेल !
वि.सं.२०७५ माघ २२ मंगलवार १३:०३
shares

बारा । जिल्ला प्रशासन कार्यालय बाराका सवारी चालक जगतनारायण राउत कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको छ। कुर्मीले चलाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्रका एसपी बलराम पोखरेल सवार गाडी गएको माघ १२ मा पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै दुर्घटना भएको थियो।
सवारी चालक कुर्मी प्रजिअ भन्दा पनि बढी पावर राखेर हिंड्ने भएकाले गर्दा बारामा आउने हरेक सीडीओलाई अस्थायी सीडीओ र कुर्मीलाई स्थायी सीडीओ भन्ने गरिएको छ। प्रजिअ आउने जाने हुन्छ तर उनी २३ बर्ष देखि सीडीओका सवारी चालक रहँदै आएका छन्। उनी सवारी चालक मात्र होइन, मुद्दामा सेटिङ गर्ने देखि लिएर हरेक कामका बीचौलिया हुन्।
जिल्ला प्रशासन कार्यालय बाराका स्थायी प्रमुख जिल्ला अधिकारीको हैसियत बनाएका कुर्मी अहिले सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका छन्। राजमार्गमै रोकिएको ढुंगा लोड गरेको टेलरमा तीव्र गतिको चलाएको गाडी ठोक्किदा गाडीमा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो।
गाडीमा सवार प्रजिअको अवस्था चिन्ताजनक रहेको छ। कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भाइको मृत्यु भएको भन्दै एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन्।
पोखरेलको जाहेरीको आधारमा कुर्मीलाई बारा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा नेपाल सरकारका केही सचिव र सहसचिव तथा अवकाश प्राप्त सचिवहरुले कुर्मीलाई बचाउन खोजेका छन्।
बारामा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेका बालकृष्ण पन्थी, शान्तराज सुवेदी, माधवराज रेग्मी, शंकर कोइराला लगायतका अवकाशप्राप्त र बहालवाला उच्च अधिकारीहरुले कुर्मीलाई बचाउन खोजेको बारा प्रहरीका अधिकारीहरुले नाम नलेख्ने शर्तमा बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका कुर्मीले अहिले पनि तिनीहरुको नाममा, तस्कारी गराउने, बारामा रहेका उद्योगहरुबाट चन्दा उठाउने लगायतका कार्यहरु गर्दै आएका थिए।
कुर्मीसँग कहाँबाट आयो करोडौंको सम्पति ?
प्रजिअका गाडी चालक कुर्मीले तस्करी, मुद्दा मिलापत्र र उद्योगहरुबाट चन्दा संकलन गरी करोडौ सम्पत्ति आर्जन गर्न सफल भएका छन्। प्रजिअलाई खुसी पारी उनले धन्दा संचालन गरी करोडौं सम्पत्ति आर्जन गरेका छन्।
कुर्मीले कलैया उपमहानगरपालिकामै करोडौ खर्चेर नमूना घर बनाउन सफल बनेका छन्। कलैया उपमहानगरपालिका १ मोतिवागमा उनको नमुना घर देखेर कलैयावासीहरु आश्चर्यचकित हुने गरेका छन्। २०५१ तिर दुई छाक टार्नका लागि चलचित्र निर्माता सुशील चौगाईका गाडीचालक रहेका कुर्मीसंग अहिले १५ करोड भन्दा बढीको जायजेथा रहेको छ। जिल्ला प्रशासन कार्यालयको गाडी चलाएरै विगत २३ बर्षको अवधिमा उनले अथाह सम्पत्ति आर्जन गर्न सफल भएका हुन्।
उनको कलैयामा रहेको नमुना घर र घरले चर्चेको जग्गा चार करोड मूल्यको छ। काठमाडौं सिंहदरबारको पूर्वी गेटको सामुन्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा नेपाल सरकारका अवकाशप्राप्त सचिव सिताराम खनालको घर नजिक अनामनगरमा आलिशान महल रहेको छ। जसको मूल्य पाँच करोड भन्दा बढी पर्छ।
यसैगरी उनको गाउँमा ब्रम्हपुरीमा बहुमूल्य पाँच विगाहा जग्गा तथा घडेरी रहेको र त्यसको मूल्य पाँच करोड भन्दा बढी रहेको छ। त्यसैगरी कलैया र वीगञ्ज कैयौं स्थानमा घडेरी जोडेका छन्। नेपालमा अधिकृतलाई आफ्नो तलबवाट दुई छाक खान र छोराछारीलाई राम्रो स्थानमा पढाउन समस्या रहेको छ तर कुर्मीले २०५२ सालदेखि प्रमुख जिल्ला अधिकारीको गाडी चलाउन शुरु गरेदेखि अहिलेसम्म उनको अवस्था दिन दुगुना रात चौगुना प्रगति भएको छ।
तीन सन्तान रहेका कुर्मीको जेठो छोरा सन्दिप जयसवार टर्कीमा ५० लाख रुपैयाँ खर्च गरी एमबीबीएस अध्ययन गराइरहेका छन्, आजको दृष्टि साप्ताहिकमा समाचार छ। कान्छो छोरा सन्जिव जयसवार काठमाडौंमा प्लस टु गरि रहेका छन्। छोरीको पर्साको अलौमा विवाह गर्नका लागि कामकुरो छिनिएको छ। दाइजोमा ७० लाख नगद र अरु अन्य सामग्री दिने सहमति भएको छ।
तीन सन्तान रहेका कुर्मीको जेठो छोरा सन्दिप जयसवार टर्कीमा ५० लाख रुपैयाँ खर्च गरी एमबीबीएस अध्ययन गराइ रहेका छन्, आजको दृष्टि साप्ताहिकमा समाचार छ। कान्छो छोरा सन्जिव जयसवार काठमाडौंमा प्लस टु गरिरहेका छन्। छोरीको पर्साको अलौमा विवाह गर्नका लागि कामकुरो छिनिएको छ। दाइजोमा ७० लाख नगद र अरु अन्य सामग्री दिने सहमति भएको छ।




























