१ हजार ५३ सट्टा शिक्षकलाई अवकास, स्रोतव्यक्तिको काज फिर्ता
वि.सं.२०७५ फागुन ९ बिहीवार १२:५२
shares

काठमाडौं । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि सट्टा शिक्षकको जागीर धरापमा परेको छ। स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक देशभर १ हजार ५३ जना छन्। त्यसमध्ये ९७८ जना अस्थायी हुन् भने ७५ जना स्थायी छन्।
यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति हटाउने र उनीहरुको सट्टामा कार्यरत शिक्षकलाई माघ महिनासम्मको तलब दिएर विदा गर्ने निर्णय गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) लाई पत्र पठाएर सट्टा शिक्षक तथा अस्थायी स्रोतव्यक्तिलाई अवकास दिन भनिएको हो।
विगतमा केन्द्र सरकारबाट विद्यालयहरुको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्रोतकेन्द्र स्थापना गरिएको थियो। स्रोतकेन्द्रमा हाल कार्यरत स्थायी शिक्षकहरुलाई दरबन्दी रहेको सम्बन्धित विद्यालयमा साविकको पदमा काज फिर्ता गर्ने र स्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत सट्टा शिक्षक एवम् अस्थायी स्रोत व्यक्तिहरुलाई अवकास दिने निर्णय कार्यान्वय गराउँन भनिएको हो।































