नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

3.69K
shares

काठमाडौँ। संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार उनकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गरेका हुन्।

नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए। नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपत्कालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको उनले बताए। भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको जानकारी दिए। उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको बताए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083