प्रतिनिधिसभा बैठक : घुस प्रकरणदेखि सडक निर्माणसम्मका कुरा
वि.सं.२०७५ फागुन १० शुक्रवार १४:४३
shares

काठमाडौं। सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारवाही हुन नसकेको, संघ अन्र्तगत निर्माण हुदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गरिन्। सांसद दिव्यमणि राजभण्डारी पूर्व गोर्खा सैनिकको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गरे। सांसद दुर्गा पौडेलले गुठी संस्थान अन्र्तगत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद देव गुरुङ तनहु लम्जुङ र मनाङमाका निर्माणाधीन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गरे। धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गरिन्। सांसद धु्रवकुमार शाहीले सुर्खेत जिल्लामा बर्षौदेखि भोगचलन गरिरहेकाहरुले जग्गा धनी पुर्जा नपाएको भन्दै धनीपूर्जाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद नरबहादुर धामीले कंचनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गा धनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गरे। सांसद पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरे। सांसद पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम श्रृजना गरी निर्वाचन रोक्ने काम भइरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरिन्। रासस






























