नो–पार्किङ क्षेत्रमा राखिएको डीआईजीको गाडी कारबाहीमा
वि.सं.२०७५ फागुन १९ आइतवार १७:१९
shares

काठमाडौं। नो–पार्किङमै पार्किङ गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को गाडी कारबाहीमा परेको छ।
शुक्रबार दिउँसो नर्भिक हस्पिटल अगाडि पार्किङ गरेको तस्वीर सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडी माथि कारबाही गरेको हो। वायोमेडिकल वैज्ञानिक डा. समिरमणि दीक्षितमा ट्वीटर मार्फत उक्त तस्वीर सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो।
दीक्षितले तस्वीरसँग लेखेका थिए, ‘आउनुस्, ट्राफिक नियम उल्लंघन गरौं। स्थानः नर्भिक अस्पताल अगाडि। समयः फोटो खिच्दा १६ः३० बजेको र यो ट्वीट गर्ने समयसम्म पनि त्यहीँ खडा।’ ट्वीटमा ट्राफिक महाशाखाको ह्याण्डलबाट शुक्रबारै रिप्लाई गरिएको थियो, ‘सूचनाका लागि धन्यवाद। उक्त सवारी चालकलाई हामी चाँडै कारबाही गरी जानकारी गाउँछौं। जय नेपाल !’

यद्यपि, कारबाही हुनेमा धेरैले आशंका गरेका थिए। स्वयम् दीक्षितले लेखेका थिए, ‘जय नेपाल। यहाँकै परिवार पर्नुभएछ, गाह्रो भए पनि कारबाही हुन्छ भन्ने विश्वास लिएँ।’
नभन्दै त्यसको दुई दिनपछि महाशाखाले बा १ झ ६४०८ नम्बर गाडी माथि कारबाही गरेको प्रमाण सार्वजनिक गरेको छ।आफूहरुले गाडीलाई कारबाही गरिसकेको जनाउँदै सार्वजनिक गरिएको विवरण अनुसार चालक छत्रबहादुर थापाले आइतबार दिउँसो १२ः१५ बजे महाशाखामा गएर ५ सय रुपैयाँ जरिवाना रकम तिरेका छन्। उनले रकम तिरेको ग्लोबल आईएमईआई बैंकको भौचर समेत ट्राफिकको ट्वीटमा संलग्न छ। यद्यपि, गाडी कुन डीआईजीले चढ्ने गरेका थिए भन्ने सार्वजनिक गरिएको छैन।




























