पुनःनिर्माण प्राधिकरणद्धारा घर नबनाएका लाभग्राहीबाट २३ करोड रुपैयाँ फिर्ता
वि.सं.२०७५ फागुन २६ आइतवार १२:५४
shares

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ। विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।
पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए। उनका अनुसारसरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए। अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम शुरु भएको उनले बताए।
उनले भने, “घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैँले जानेर फिर्ता गर्न थाल्नुभएको छ। कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ। उनका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ। सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए।
परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ। उनले भने, “नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल सङ्ख्या आठ लाख १२ हजार ३७१ रहेको छ।




























