होली पर्व सुरुः बसन्तपुरमा ठड्याइयो होलीको चीर
वि.सं.२०७५ फागुन ३० बिहीवार १५:००
shares

काठमाडौँ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा बिहीबार बिहान रङ्गीविरङ्गी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायतको मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ।
होली पर्वको शुभारम्भ भएको जनाउ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए। रंगहरुको यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाइन्छ। अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ।
बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दारेचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीविरङ्गी होलीचीर ठड्याइएको हो।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो। सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको पनि बताए। उनले होली पर्व भगवान कृष्णले गोपिनीहरू नुहाउन गएका बेला उनीहरूको कपडा हरण गरी रुखमा छुट्टयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रही आएको पनि बताए। होली पर्वलाई बसन्त ऋतुको आगमनको खुसियालीमा रङ्गरहित मनाउने पर्वको रुपमा लिने गरिएको छ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रङ्गीविरङ्गी कपडाका ध्वजापताकाहरू सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ।
यस वर्ष काठमाडौँलगायतको पहाडी जिल्लाहरूमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरूमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ। होलीमा सरकारले सार्वजनिक बिदा समेत दिने गर्दछ।






























