‘एक घर, एक रोजगार’सञ्चालन

२०७६ पुस ९ बुधवार
957
shares
काठमाडौं । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् ।
पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । स्थानीयवासीले आफूले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले व्यवसाय गर्ने व्यक्तिको बैंक खातामा आधार रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए ।
यो कार्यक्रमअन्तर्गत आठ सय पाँच घरधुरीलाई ‘एक घर एक रोजगारी’ उपलब्ध गराएको उनले बताए । व्यापार, सीपमूलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयवासीले सञ्चालन गरेको उनको भनाइ छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु डेढ करोड बजेट विनियोजन गरी काम शुरु गरिएको छ ।
त्यस्तै जगदुल्ला गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ कार्यक्रमको थालनी गरेको छ । आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन गाउँपालिकाले यो कार्यक्रम लागू गरेको हो ।
पहिलो चरणमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताए । गाउँपालिकाका १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरी कूल रु पाँच करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरी स्थानीयवासीलाई रोजगारी उपलब्ध गराएको रोकायले बताए ।
पहिलो चरणमा वडा नं ४ का प्रत्येक घरधुरीलाई दुई वटा चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ वटा स्थानीय सरकारले नै अनुदानस्वरुप प्रदान गरेको हो । दुई चौँरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्नुपर्नेछ भने १२ वटा बाख्रा अनुदानमा लिइनेले आठ वटा कृषकले अनिवार्य किन्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहनाअनुसार नै अनुदान दिएकाले सरकारको अनुदान कुनै पनि हालतमा खेर नजाने स्थानीयवासी भीमबहादुर बस्नेतले बताए ।
उनले भने, “यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो, हामीले सो गाउँपालिकाको सपना जसरी नी परिणाम ल्याउने गरी काम गर्छौं । ” दुर्गम गाउँमा अर्थ अभावकै कारण रोजगारी नपाएका तथा बेरोजगार बसेका युवा तथा स्थानीयलाई सहयोग पुगेको छ । अहिले गाउँपालिकाको रकमबाट स्थानीयवासी व्यवसाय गरेर आम्दानीको बाटो कुरेर बसेको स्थानीयवासी कर्णबहादुर रोकायाले बताए ।

२०७६ पुस ९ बुधवार