बझाङमा बोलेरो जिप दुर्घटना : ३०० मिटर तल खस्दा चार जनाको मृत्यु

416
shares

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुँगुरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन्।

प्रारम्भिक विवरणअनुसार जिपमा १५ देखि १६ जना सवार रहेको र सडकबाट करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको हो। घाइतेहरूको संख्या र स्वास्थ्य अवस्था भने अझै यकिन हुन सकेको छैन।

बझाङबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरका अनुसार घटनालगत्तै घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने पहल थालिएको छ। दुर्गम भूगोलका कारण घटनास्थलसम्म स्थलमार्गबाट पुग्न कठिन भएकाले हवाई उद्धारको तयारी गरिएको उनले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। विकट भूभागमा दुर्घटना भएकाले विस्तृत विवरण संकलन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले स्थानीयवासीसमेत उद्धार कार्यमा सक्रिय रूपमा जुटेको जानकारी दिएका छन्। आवश्यक परे थप उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए।

दुर्घटनामा मृत्यु हुने चार जनाको पहिचान सार्वजनिक भएको छैन। दुर्घटनाको कारण, घाइतेहरूको अवस्था तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


divya collage
unigloble collage