जिम्मेवार पत्रकारिता र निर्वाचन रिपोर्टिङबारे धादिङबेसीमा अन्तरक्रिया

1.16K
shares

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा “जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग” विषयक अन्तरक्रिया तथा पुरस्कार अर्पण समारोह धादिङबेसीमा भएको छ ।

कार्यक्रममा पत्रकारिताको मर्यादा, तथ्यमा आधारित समाचार प्रवाह, निर्वाचन अवधिमा पत्रकारले अपनाउनुपर्ने पेशागत आचारसंहिता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे गहन छलफल गरिएको छ । सहभागी वक्ताहरूले गलत सूचना, अफवाह र सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीले लोकतन्त्रमा पार्ने असरबारे विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा योगदान पुर्‍याएका पत्रकारहरूको कदर गर्दै यस वर्ष धादिङ जिल्लाका ४ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका पदाधिकारीहरूले जिम्मेवार पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा निर्वाचनको संवेदनशील समयमा सत्य, सन्तुलित र निष्पक्ष रिपोर्टिङ पत्रकारहरूको प्रमुख दायित्व भएको बताइएको छ ।