‘शुक्रबारसम्म दुबै पार्टीका दस्तावेजलाई अन्तिम रुप दिने तयारी गर्दैछौँ’-प्रचण्ड

२०७५ वैशाख १३ बिहीवार
1.6K
shares
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकता हुने बताएका छन् । रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबारसम्म दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने तयारी भइरहेको जानकारी दिए ।
पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै प्रचण्डले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिस्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६,७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा ढिलाइ गर्नु नहुनेमा जोड दिए । वाम एकता जनताको साझा सम्पति भएको उनको भनाइ थियो ।
एमालेसँगको एकता प्रक्रिया लम्बिरहेको बेला प्रचण्डले एकता सफल पार्ने चुनौति रहेको धारणा राखे । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’
अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय रहेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आह्वान गरे ।

२०७५ वैशाख १३ बिहीवार