नेताहरू चियापानमा व्यस्त, एकता प्रक्रिया टुंगोमा पुग्न माघे संक्रान्ति नै पर्खनुपर्ने

२०७५ कात्तिक २३ शुक्रवार
1.2K
shares
काठमाडौं । नवीन उत्साह र जोस–जाँगरका साथ एकता भएको नेपाल कम्युनिस्ट पार्टी ९ने क पा०का उमंग सात महिना नबित्दै सेलाउने तहमा पुगेको छ । तीन महिनाभित्र एकता प्रक्रिया निष्कर्षमा पुर्याउने नेताहरूले शंखघोष गरे पनि सात महिनामा प्रदेश पदाधिकारी बाँडफाँट सम्ममात्र एकता प्रक्रिया बिस्तार हुँदा नेता–कार्यकर्तामा निराशा उत्पन्न भएको छ ।
गत वर्षको दसैँलगत्तै वामगठबन्धन निर्माण भएकाले चाडपर्वको बीचमा पनि कार्यदलको बैठक, चुनावी तालमेलको खाका तयार पार्न व्यस्त देखिएका थिए । ठूला चाडपर्वले समेत पार्टीको काममा बाधाअड्चन आएको थिएन । यसपटक पार्टी एकीकरण नै भए पनि नेताहरूले एकताको जोस–जाँगर देखाउन सकेका छैनन् । एकीकरण प्रक्रिया विस्तारलाई कुनामा थन्क्याएर नेताहरू सामान्य काममा अल्झन थालेकोप्रति पार्टीभित्र असन्तुष्टिले पखेँटा हाल्न थालेको हो ।
ने क पाका चौथो वरियताका नेता झलनाथ खनाल पोलिट्व्युरोको गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, केन्द्रीय निकाय र विभागमा सदस्य एवम् पदाधिकारी नियुक्ति नहुँदा पार्टीको स्फूर्तिपन चिसिँदै गएको स्वीकार्छन् । केन्द्रमा मात्रै पार्टी एकता भएको छ, तल भताभुङ्गको अवस्थामा छ । छिट्टै एकता प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ, उनको भनाइ थियो ।
पछिल्लो समय नेताहरू चियापान, विदेश भ्रमणलगायतका काममा व्यस्त रहेकाले र चाडपर्वमा नेताहरूको दौडधूप रहेकाले कमिटीको मिटिङ, बैठकहरू राख्न नसकिएको उनको भनाइ थियो ।केहीदिनअघि पार्टीका अध्यक्ष बिरामी पर्नुभयो । त्यसलगत्तै तिहार, चियापान आदिले नेताहरू जुटाउनै गाह्रो भयो उनले भने, हेडक्वाटरमा रहेका नेता नै नजुट्दा सचिवालयसमेतको बैठक बस्न सकेन ।
त्यस्तै कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । दसैँलगत्तै बसेको पार्टी सचिवालयको बैठकले प्रदेश सदस्यहरूको नामावलीलाई अन्तिम रूप दिन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न गृहमन्त्रीसमेत रहेका पार्टी सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
नेताहरूको व्यस्तता, दौडधूप र सुस्त प्रवृत्तिले एकता प्रक्रिया टुंगोमा पुग्न माघे संक्रान्ति नै पर्खनुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिल्ला तहका संरचना तयार नभएकाले एकतालाई फिँजाउन नसकिएको उनको भनाइ थियो ।
त्यस्तै पार्टीको राजनीतिक दस्तावेज समेत तयार नभएको र दस्तावेजको अन्तर्वस्तुमै नेताहरूबीच मतैक्य नरहेको एकताको आवश्यकता र औचित्यका बारेमा आधारभूत तहका कार्यकर्तालाई बुझाउन कठिनाइ आइपरेको उनी बताउँछन् । एकता प्रक्रियालाई छिटो निष्कर्षमा नपुर्याउँदा पार्टीभित्र असन्तुष्टि पैदा हुनेतर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराउँछन् । बिहे गरेको दिनमात्रै दुलही हो । भोलिपल्ट बुहारीको भूमिकामा अवतरण हुनुपर्छ ।

२०७५ कात्तिक २३ शुक्रवार