नक्कली शरणार्थी प्रकरण : लुम्बिनीका मुख्यमन्त्री चाैधरी पनि अनुसन्धानको घेरामा !

8.03K
shares

काठमाडौ । कांग्रेस सांसद आरजु राणा देउवा र प्रहरी खोरमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समेत ‘भुटानी शरणार्थी प्रकरण’मा मुछिएका छन्।

‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र दाङका सन्देश शर्माले शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’हरूको संलग्नता देखाउँदै जाँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नाम पनि पोलेको अधिकारीहरूले जनाएका छन्।

अभियुक्त शर्माले ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी (फरार) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोग लिएर आफूहरूञले तत्कालीन गृह सचिव टेकनाराण पाण्डेलाई पटक-पटक भेटेको बयान दिएका छन्।

‘निज टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुई पटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएको थिएँ,’ बिएल नेपाली सेवालाई प्राप्त बयानमा उनले भनेका छन्, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाइ र डिल्ली दाइ (मुख्यमन्त्री) सँग कुराकानी हुँदै जाँदा निज पाण्डेको नाम भने सुनि रहेको थिएँ।’

पूर्वगृहमन्त्री खाँण, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई काठमाडौँ प्रहरी परिसले पक्राउ गरेपछि मुख्यमन्त्री चौधरी काठमाडौँ आइ पुगेका छन्। उनले सोमबार र मंगलबार प्रहरी थुनामा रहेकाहरूलाई भेट्न खोजेको थिए। तर प्रहरीले अभियुक्तहरूलाई भेट्नका लागि समय नदिएको प्रहरी स्रोतको दाबी छ। बिएल नेपाली सेवाले मुख्यमन्त्री चौधरीलाई यसबारे थप कुराबुझ्न खोज्दा उनीसित सम्पर्क हुन सकेन।

अमेरिकी पीआरधारी ठग गजेन्द्र बुढाथोकीले सत्ता र पहुँचको आडमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेत्री आरजु राणा देउवा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयौँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको अभियुक्त सन्देश शर्माले प्रहरी अधिकारीलाई बताएका छन्।

त्यति खेर तत्कालीन गृहमन्त्री खाँणलाई गजेन्द्रले भेटिरहँदा उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितहरूले ठगी गरेको भन्दै उजुरी दिएका थिए। तर खाँणले मुख्यमन्त्री चौधरी र गजेन्द्रको आग्रह माग्दै पीडितहरूले दिएको उजुरी समेत लुकाउन प्रहरीलाई बाध्य पारेका थिए।

करोडौँ ठगी प्रकरणमा मुछिएका दाङका गजेन्द्र बुढाथोकी र प्रहरी खोरमा रहेका सन्देशले ‘शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै राप्ती क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिबाट लाखौँ पैसा असुलेको खुलासा भएको छ।

‘अमेरिका पठाइ दिन्छौँ तर इलिगल होइन भनेर दाङका गजेन्द्र र सन्देशले म र मेरो साथीबाट ३३ लाख लिए। उनीहरूले पैसा लगे तर हामीहरूलाई अमेरिका पठाएनन्,’ अमेरिकी सपना देखेर गजेन्द्र र सन्देश मार्फत् ठगिएका एक पिडितले भने, ‘त्योबेला उजुरी गर्न जाँदा डिल्ली अंकलले मेरो बुबालाई भनेरै रोक्नु भयो। खै, हाम्रो पैसा डुब्यो।’

‘आफूहरूबाट २० देखि ५० लाख लिएपनि समयमै अमेरिका नपठाएको’ भन्दै पीडितहरूले प्रहरी गुर्हादा पनि फरार अभियुक्त गजेन्द्रको दबाबमा मुख्यमन्त्री चौधरीले धेरैलाई शान्त पार्ने काम गरेको पीडितहरूको गुनासो छ। उनीहरूले नक्कली शरणार्थी परिचय पत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन्।

‘उहाँ (मुख्यमन्त्री) ले पैसा खाएको चाहिँ थाहा भएन तर हामीहरूलाई प्रहरीकहाँ जान नदिने, अमेरिका पठाइ दिन्छन् भनेर उजुरी गर्न नदिने काम डिल्ली चौधरीबाटै भएको छ,’ हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका दाङका एक पीडितले भने।

स्रोतका अनुसार प्रहरी हिरासतमा रहेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण र गिरोहका नाइके केशव दुलालसँग फरार सूचीमा रहेका गजेन्द्र बुढाथोकीको भेट उनै चौधरीले गराइदिएका थिए। उनी पूर्वप्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा–पत्नी आरजु निकट मानिन्छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083