‘पञ्चायतकालका प्रधानमन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गरौँ’ : बाबुराम भट्टराई

5.41K
shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अधिकार सम्पन्न छानबिन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँमा भएको भष्टाचार विरोधी धर्ना कार्यक्रममा बोल्दै भट्टराईले देशमा अस्थिर सरकार भएका कारण भष्टाचारीमाथि कारबाही हुनेमा शङ्का गर्ने ठाउँ रहेको बताएका हुन् ।

उनले भने– ‘मैले संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते संविधान सभा हल बाहिर आएर यो संविधान आधा भरी र आधा खाली छ भन्नुको अर्थ हाम्रो यो राज्यको जुन शासकीय स्वरूप र निर्वाचन प्रणाली छ, त्यसमा कैयौँ त्रुटि छन् । त्यसले कुनै पनि दललाई बहुमतको सरकार बनाउन दिँदैन । यो कुरा दुइटा चुनावले पुष्टि गर्‍यो । त्यसकारण अस्थिर सरकार भएपछि गठबन्धन जोगाउनकै लागि कार्यकारी प्रमुखले वा प्रधानमन्त्रीले जोखिम उठाउन सक्दैन ।’

उनले कानुनमा अपराधीलाई उन्मुक्ति दिने छिद्रहरू रहेको बताउँदै राज्यले खुट्टा नकमाईकन भष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले निष्पक्ष छानबिन समिति बनाएर सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले पञ्चायतकलाका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्ने संयन्त्र बनाएर काम गर्न आग्रह गरे ।

उनले लोकतन्त्रका कारण भ्रष्टाचार बढेको नभई विगतमा मन्त्री भएका सम्पूर्ण जीवित व्यक्तिको एउटा अधिकार सम्पन्न छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खबरदारी हुनुपर्नेमा जोड दिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083