‘नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल गरिदिनुपर्छ’ : पूर्वराष्ट्रपति भण्डारी

6.81K
shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देशहरुबीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्नेमा जोड दिएकी छिन् । शनिवार काठमाडौँमा डा.अच्युत गौतम र डा.सुरेन्द्र भण्डारीले नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले छिमेकी देशसँग कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र दलका नेताहरू संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले भनिन– ‘हामीले हाम्रो गौरवशाली इतिहासबाट मातृभूमि प्रतिको अविचलित समर्पण र निष्ठाका लागि सधैँ उत्प्रेरणा लिनुपर्दछ । दक्षिण एसियामा मात्र नभएर विश्वमा नै सदियौँदेखि आफ्नो अभिछिन्न अस्तित्व र प्रतिष्ठा कायम राख्न नेपालले अभूतपूर्व स्तर सङ्घर्ष गरेको विषय सर्वविदितै छ । इतिहासको कालखण्ड र आधुनिक नेपाल निर्माणको क्रममा हाम्रा पूर्वजहरूले राष्ट्रिय स्वाधीनता कायम राखिरहन बलिदानी पूर्ण युद्ध लड्नुपरयो । अस्थिर रहिरहने भौगोलिक सिमानालाई स्थिर बनाउन लडिएको त्यस महासमरमा हिमाल तराई र पहाडका हरेक नेपाली समुदाय परिवार र बस्तीहरूको बलिदान छ । त्यसैले भनिएको हो यो सानो दुःख त्याग र बलिदानले निर्माण भएको मुलुक होइन ।’

उनले हाम्रा पुर्खाहरूप्रति सधैँ उच्च सम्मान गर्नुपर्ने बताउँदै इतिहासका गम्भीर मोडहरूमा हाम्रा वीर पुर्खाहरूले लिएका ऐतिहासिक निर्णय प्रस्तुत गरेका त्यागबाट वर्तमानका चुनौतीहरूको सामना गर्ने मार्गदर्शन प्राप्त गर्नुपर्ने बताइन् । साथै उनले जलवायु परिवर्तनका कारण हाम्रा नदी प्रणाली प्रदूषित र अत्यन्तै कमजोर रहेको समेत उल्लेख गरिन् । हाम्रो देशको नदी प्रणाली देशले आर्थिक विकासमा फड्को मार्ने साधन समेत रहेको बताउँदै भण्डारीले यसबाट दिगो बिद्युत् उत्पादन, कृषि प्रणाली र पर्यटनको विकास गर्न सके मुलुकलाई सामाजिक आर्थिक रूपले सम्पन्न तुल्याउन सकिने अवस्था रहेको बताइन् ।

यस्तै दुई छिमेकी देशहरू बीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्ने उल्लेख गरिन । उनले हाम्रा राजनीतिक दल र राजनेताहरूले मित्रराष्ट्रहरूको सम्बन्धको संवेदनशीलतालाई पर्याप्त रूपले आत्मसात् गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको संवेदनशीलतालाई पनि मित्रराष्ट्रले ख्याल गर्दिनुपर्ने उल्लेख गरिन् । हरेक राष्ट्रका लागि राष्ट्रिय हित र सुरक्षा प्रमुख कुरा हुने बताउँदै उनले कुनै राष्ट्रका लागि आफ्नो राष्ट्रिय हित र सुरक्षामा संवेदनशील बनिरहँदा अर्को राष्ट्रको राष्ट्रिय हित र सुरक्षामा पनि त्यतिकै संवेदनशील बन्नुपर्ने बताइन् । कुटनीति र राजनीतिको सीमा रेखा छुट्टाउन नसकिएको बेलामा आपसी विश्वास निर्माण गर्न नसकिने मात्र हैन बनेको विश्वास पनि सङ्कटमा पर्न सक्ने भण्डारीले उल्लेख गरिन् । उनले यो विषयलाई सम्बद्ध पक्षले गम्भीर रूपमा मनन गर्नुपर्ने बताइन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083