बुथ कब्जाको कल्पना नगर्न ओलीको चेतावनी
वि.सं.२०८२ फागुन ११ सोमवार १५:३७
shares

११ फागुन, काठमाडौं। केपी शर्मा ओलीले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा हुन नदिने चेतावनी दिएका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “मतदाताले स्वतन्त्र रूपमा मतदान केन्द्र पुग्न र ढुक्कसँग मत खसाल्न पाउनुपर्छ। कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना पनि नगरे हुन्छ, त्यसो गर्न कसैले सक्दैन।”
ओलीले ‘नेशनल युथ फोर्स’ गठनपछि अब देशका महत्वपूर्ण संरचनामा आक्रमण हुन नदिने दाबी पनि गरे। उनका अनुसार विगतका आन्दोलनका बेला यस्तो संरचना नहुँदा राज्यका संस्थामा क्षति पुगेको थियो।
“अब कसैलाई पनि सिंहदरबार जलाउने छुट छैन,” उनले भने, “शान्ति र सुरक्षामा सहयोग पुर्याउन यो फोर्स गठन गरिएको हो, देखाउनका लागि होइन।”
उनले उक्त फोर्सलाई एमालेको जनवर्गीय संगठन भएको बताउँदै चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा काम गर्ने बताए। राज्य संयन्त्रमा मात्र भर नपरी नागरिक स्तरबाट पनि सुरक्षा सचेतना आवश्यक भएकाले यस्तो संरचना बनाइएको उनको भनाइ छ।
















