धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गर्ने निर्णय

1.17K
shares

काठमाडौं। गृह मन्त्रालयले धादिङमा भएको बस दुर्घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ। आइतबार राति भएको दुर्घटनामा १९ जनाको मृत्यु भएपछि उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरिएको हो।

गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार सोमबार मन्त्रालयमा बसेको बैठकले समिति गठन गर्ने निष्कर्ष निकालेको हो। बैठकमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, सडक विभाग, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकाय सहभागी थिए। समितिको संयोजक र सदस्य संख्या भने अझै टुङ्गो लाग्न बाँकी छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिक दुर्घटनाग्रस्त भएको थियो। बस सडकबाट खसेर त्रिशूली नदी किनारमा पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सरकारले घटनाको कारण, जिम्मेवारी र भविष्यमुखी सुरक्षा उपाय पहिचान गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।