घरदैलोमा जनलहर: रास्वपाका डा. लेखजंग थापाको प्रतिबद्धता—“ठूला सपना होइन, आधारभूत आवश्यकता पूरा गर्छौं”

3.15K
shares

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. लेखजंग थापाले जनताले ठूला सपनाभन्दा पनि आधारभूत आवश्यकताको सम्बोधन र सुशासन चाहेको बताउनुभएको छ। आइतवार बुटवल उपमहानगरपालिका वडा नं १७, १८ र १९ को घरदैलो गर्नेक्रममा डा. थापाले जनताका मुख्य समस्या र रास्वपाको प्रतिबद्धताका विषयमा आफ्ना अनुभव सुनाउनुभएको हो। डा. थापाका अनुसार गाउँ-बस्तीमा पुग्दा जनताले कुनै ठूलो राजनीतिक परिवर्तन भन्दा पनि दैनिक जीवनसँग जोडिएका सामान्य कुराहरू मागेका छन्। जनताको मुख्य चाहना बाटोघाटो निर्माण, कृषिमा सुधार, समयमा मलखादको उपलब्धता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नै रहेको उहाँको अनुभव छ। विशेषगरी देशमै रोजगारी सिर्जना गरी सबै नेपालमै कसरी खुसी भएर बस्न सकिन्छ भन्नेमा नै आम नागरिकको चासो केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो। डा. थापाले सबैभन्दा मर्मस्पर्शी पक्ष युवा पलायनलाई देख्नुभएको छ। बालबालिकाहरू देश छोडेर बाहिर जाँदा अभिभावकहरू एक्लो भएको र उनीहरूलाई कसरी स्वदेशमै फर्काएर बसाल्ने भन्ने चिन्ताले धेरैको मन रोएको उहाँले बताउनुभयो। विगतका काम र उपलब्धिप्रति जनता सन्तुष्ट हुन नसकेका कारण अहिले रास्वपाका उम्मेदवारहरूप्रति ठूलो भरोसा र आशा पलाएको डा. थापाको दाबी छ। आफ्नो मुख्य एजेन्डा देशको समृद्धि र सुशासन रहेको बताउँदै उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भ्रष्टाचारलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र यसको निर्मूलीकरण गर्ने नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ। जनताको यो अपार माया र आशालाई आत्मसात् गर्दै आफू र आफ्नो पार्टी देशको समग्र विकासका लागि लागिपर्ने उम्मेदवार डा. थापाले बताउनुभएको छ। घरदैलो अभियानमा डा. थापासँगै रहनुभएकी समानुपातिक उम्मेदवार ज्ञानु पौड्यालले पनि अहिलेको जनलहरले पार्टीलाई ठूलो ऊर्जा दिएको बताउनुभयो। नागरिकको अवस्था परिवर्तन नभएकाले अहिले आम मतदाताले ‘घण्टी’ मा आशा र भरोसा राखेको उहाँको दाबी छ। पौड्यालले बुटवलका सुकुम्बासी बस्तीको व्यवस्थापन, अधुरा पर्यटकीय आयोजनाको पूर्णता र महिलाहरूलाई आत्मनिर्भर बनाउने योजनामा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतवार सम्म रुपन्देही क्षेत्र नं ३ मा रहेका ३६ वटा वडा मध्य २६ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083