सुदूरपश्चिमका सांसदसँग जरुरी आयोजनालाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता

1.25K
shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सीमित बजेटभित्र रहेर अत्यावश्यक योजनाहरूलाई प्राथमिकता दिँदै कार्यान्वयन गरिने बताएका हुन्।

छलफलमा सहभागी कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाका अनुसार प्रदेशमा लामो समयदेखि अघि बढ्न नसकेका महत्वपूर्ण आयोजनाहरूको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। उनले सुदूरपश्चिमका लागि करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट आवश्यक रहेको भन्दै विनियोजन गर्न आग्रह गरिएको बताए।

सांसद कोइरालाले प्रधानमन्त्रीबाट उक्त मागप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै बजेटको आकार हेरेर प्राथमिकताका आधारमा योजनाहरू अघि बढाइने प्रतिबद्धता आएको जानकारी दिए।

यसअघि प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरूसँग पनि यस्तै प्रकारको छलफल गरेका थिए।