नागरिकलाई त्रसित बनाउने कार्यले सरकार असफल हुन्छ: घनश्याम भूसाल
वि.सं.२०८३ वैशाख २३ बुधवार १४:५२
shares

२३ वैशाख, काठमाडौं। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले नागरिकमा त्रास पैदा गर्ने कार्यशैलीले अन्ततः सरकारलाई नै असफल बनाउने बताएका छन्।
माइतीघरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारलाई जनअपेक्षा र लोकतान्त्रिक मूल्य–मान्यताप्रति गम्भीर बन्न सचेत गराउँदै बहुमतको दुरुपयोग नगर्न आग्रह गरे।
भूसालले सुकुमवासीमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै उनीहरूको उचित व्यवस्थापन, भत्काइएका संरचनाको क्षतिपूर्ति तथा बालबालिका र वृद्धवृद्धाको उपचारको ग्यारेन्टी गर्न सरकारसँग माग गरे। विकल्पविहीन अवस्थामा घर भत्काउनु अमानवीय हुने उनको भनाइ थियो।
उनले विद्यार्थी युनियन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारी कदमलाई अलोकतान्त्रिक भन्दै आलोचना गरे। विगतमा लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने प्रयास सफल नहुने उनको चेतावनी थियो।
दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयासलाई उनले ‘चोर बाटो’ को संज्ञा दिए। संसदीय प्रक्रियाबाटै कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
भूसालले छिमेकी भारत बाट घरायसी सामान ल्याउँदा लगाइएको कडा भन्सार नीतिले सर्वसाधारण र वैदेशिक रोजगारीबाट फर्किएका नेपाली प्रभावित भएको बताए। तस्करी नियन्त्रणका नाममा जनतालाई सास्ती नदिन सरकारलाई उनले आग्रह गरे।
उनले इतिहासमा बहुमतका सरकारहरूले जनअपेक्षा पूरा गर्न नसक्दा असफल भएको स्मरण गराउँदै वर्तमान सरकारले प्राप्त अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने बताए।


















