जनताको मन जित्ने राजनीतिमा फर्कन कांग्रेसलाई गगन थापाको आह्वान
वि.सं.२०८३ असार ९ मंगलवार २०:४८
shares

झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता केन्द्रित राजनीति, अस्थिर गठबन्धन र भागबण्डाको संस्कृतिका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार गर्दै कांग्रेस अब जनसेवामा समर्पित र जनमुखी राजनीतिमा फर्किनुपर्ने बताएका छन्।
झापाको बिर्तामोडमा आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले सरकार बनाउने अंकगणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले स्पष्ट राजनीतिक आधारविना गठबन्धन गर्ने र फेरि त्यही गठबन्धन तोड्ने प्रवृत्तिले कांग्रेसको छवि कमजोर बनेको बताए।
थापाका अनुसार केही नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा र सत्ता भागबण्डाको राजनीतिका कारण कांग्रेसप्रति जनविश्वास घटेको छ। निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र होइन, समग्र पार्टीप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उनले बताए।
“कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो,” थापाले भने, “प्रधानमन्त्री बन्ने मोहका कारण पार्टीको प्रतिष्ठा र जनविश्वासमा क्षति पुगेको हो।”
उनले अहिले कांग्रेसको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै देशका समस्या बुझेर समाधान गर्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गरे।
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याइएकोप्रति असन्तुष्टि जनाउँदै त्यसले सुशासनको मान्यतालाई कमजोर बनाउने बताए। उनले विगतका कमजोरी नेतृत्वको मात्र नभई पार्टीकै भएको स्वीकार गर्दै कांग्रेसले आत्मालोचना गरिसकेको बताए।
शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्तामार्फत समाधान गर्न सरकारसँग आग्रह गरे। साथै भूमिहीन सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, बाहुनडाँगी क्षेत्रमा बढ्दो जंगली हात्तीको समस्या नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी नेताहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
































