बजेट विवाद चर्किँदा कर्णाली प्रदेशसभामा धकेलाधकेल

403
shares

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम बजेटबाट हटाइएको विषयलाई लिएर कर्णाली प्रदेशसभाको बुधबारको बैठक तनावग्रस्त बनेको छ। विवाद चर्किँदा सत्ता र प्रतिपक्षका सांसदबीच धकेलाधकेल हुँदै हात हालाहालको अवस्था सिर्जना भएको हो।

आर्थिक विधेयकमाथिको छलफल अघि बढाउने क्रममा विपक्षी सांसदहरूले विरोध जनाउँदै सभामुखको आसन अगाडि पुगेर बैठक अवरुद्ध गरेका थिए। आर्थिक मामिला तथा योजनामन्त्रीलाई प्रस्ताव पेश गर्न रोक्ने प्रयास भएपछि दुवै पक्षका सांसद आमनेसामने भएका थिए।

संसदभित्रको स्थिति असहज बन्दै गएपछि सभामुखले बैठक पहिलो पटक केही समयका लागि स्थगित गरेकी थिइन्। त्यसपछि पनि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक पुनः आधा घण्टाका लागि स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी दलहरू नेकपा र राप्रपासहितका सांसदहरूले सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम चालु बजेटबाट हटाएको भन्दै निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूको माग सम्बोधन नभएसम्म बैठक अघि बढ्न नदिने अडान रहेको छ।

विरोधका क्रममा प्रदेशसभा सदस्य सन्तोषी शाहीले उक्त कार्यक्रम हजारौं बालिकाको भविष्यसँग जोडिएको सामाजिक सुरक्षा योजना भएको उल्लेख गर्दै सरकारले स्पष्ट कारणबिना हटाएको आरोप लगाइन्। विगतका वर्षहरूमा हजारौं छोरीका नाममा रकम जम्मा गरिएको स्मरण गराउँदै उनले कार्यक्रम रोकिएपछि बैंकमा रहेको रकम र लाभग्राहीको अधिकारको सुनिश्चितताबारे सरकार स्पष्ट हुनुपर्ने माग गरिन्।

उनले कार्यक्रमको भविष्यबारे ठोस योजना सार्वजनिक नभएसम्म प्रतिपक्षले संसद् अवरोध जारी राख्ने चेतावनीसमेत दिएकी थिइन्। त्यसपछि विपक्षी सांसदहरू उभिएर विरोध जनाउँदा बैठक थप तनावपूर्ण बनेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083