अफिम कारोबारी विष्णु तामाङलाई १९ र जगमन गिरीलाई १६ वर्ष जेल सजाय हुने

8.14K
shares

हेटौडा । अफिमको उत्पादन र कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले अभियुक्त विष्णु तामाङलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । अदालतले सात लाख २५ हजार रुपैया जरिवाना गर्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको बुधवार बसेको इजलाशले मकवानपुर कैलाश गाउपालिका २ डाडाखर्कका ३१ वर्षीय विष्णु तामाङलाई अफिमको उत्पादन र कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो। स्रेस्तेदार अनन्त मरासिनीका अनुसार अफिमको कारोबार गरेको १६ वर्ष कैद र ७ लाख रुपैयाँ जरिवानाको साथै अफिम खेती गरेकोमा थप ३ वर्ष कैद र २५ हजार थप गरेको हो।

उक्त अफिम कारोवारमा संलग्न रहेका अर्का अभियु्क्त पर्सा औराहीका ५६ वर्षीय जगमन गिरीलाई १६ वर्ष कैद गर्ने फैसला गर्नुको साथै ७ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ। अभियुक्तद्धयलाई २ केजी १५ ग्राम अफिमसहित मकवानपुरको प्रहरीले ०७४ वैशाख ४ गते रातोमाटे चौकीका प्रहरीले पक्राउ गरेको थियो। अभियुक्त तामाङ र गिरी क्षेत्रीय कारागार भीमफेदीमा छन्।