मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु

Nepal Life Insurance Long Ad

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ  । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ । तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ ।  सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ । सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। रु ६ अर्ब २१ करोड ३१ लाखको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका छन् । भदौ १३ गते यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए।

१३ कात्तिक २०७८, शनिवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु