निर्मलाका आमाबुबाको स्वास्थ्यमा समस्या : राहत रकम छोरीहरूको पढाइमा लगाउन माग

4.97K
shares

कञ्चनपुर । निर्मलाको हत्यारा पत्ता लगाउनु पर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना थालेको बुधबार एघार दिन भयो । रातदिन धर्नामा बसेका दुर्गा र यज्ञराजको स्वास्थ्यमा समस्या देखिन थालेको छ । रक्तचाप बढेर स्वास्थ्य जटिल बनेपछि मंगलबार महाकाली अञ्चल अस्पतालका चिकित्सक आएर धर्नास्थलमै उनीहरूको उपचार गरेका थिए ।

‘मैले चिकित्सकलाई बोलाएर उपचार गराउन लगाएको हुँ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भने, ‘भीडमा सबै मान्छेलाई एउटै कुराको जबाफ दिइराख्नु पर्दा उहाँहरूलाई थप समस्या भएको चिकित्सकले बताएका छन् ।’ निर्मलाको हत्यारा पत्ता लगाउन चार महिना देखि अनुसन्धान गर्दा पनि तथ्य फेला पर्न नसकिरहेका बेला धर्ना बसेर उनीहरूका माग पूरा हुनेमा अन्योल देखिएको छ ।

‘चिसोमा रातदिन धर्नामा बस्दा कम्मर, हातखुट्टा दुख्ने समस्या देखिएकोे छ’, दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म छोरीको हत्यारा पत्ता लगाएको छैन, कहिले सम्म हामी धर्ना बसिराख्ने हो ? दुई छोरीको ख्याल गर्नुपर्ने र धर्नामा पनि बस्नुपर्दा धेरै समस्या भएको उनको भनाइ छ । ‘निर्मलाको न्यायमा सबैको समर्थन छ तर आफ्नो स्वास्थ्य पनि ठूलो कुरा हो’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट भन्छन्, ‘चिसोमा २४ घन्टा धर्ना बस्दा स्वास्थ्यलाई पनि ख्याल गर्न हामीले भनिरहेका छौं ।

राहत रकम छोरीहरूको पढाइमा लगाउन माग

निर्मला पन्तको पीडित परिवारलाई केन्द्रीय सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत रकम निर्मलाको परिवारमा कसलाई उपलब्ध गराउने भन्ने विषयमा पनि चर्चा चलेको छ । हेलेन श्रेष्ठको समितिले निकालेको विज्ञप्तिमा उक्त रकम दुई छोरीको पढाइमा लगाउने गरी उपलब्ध गराउन माग गरिएको छ । यज्ञराजका दुई पत्नी छन् ।


divya collage
unigloble collage