भारतमा एक अमेरिकी क्रिश्चियन धर्म प्रचारकको हत्या

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १४:४७
shares

काठमाडौं । भारतमा एक अमेरिकी क्रिश्चियन धर्म प्रचारकको हत्या गरिएको छ । भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा जोन अलेन चाउ नाम गरेका अमेरिकी नागरिकको हत्या गरिएको हो । यहाँका आदिवासीले प्रयोग गर्ने धनुष वाणको प्रहार गरेर उनको हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ । यस क्षेत्रमा विदेशीले यस्ता हतियार बोक्न प्रतिबन्ध लगाइएकाले पनि चाउको हत्या अन्डामनका आदिवासीले नै गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२७ वर्षीय चाउ क्रिश्चियन प्रचारक थिए । उनले क्रिश्चियन धर्मको प्रचार गरिरहँदा आदिवासीहरुले नै हत्या गरेको स्थानीय अधिकारीको रिपोर्टमा छ । चाउको आफ्नो सामाजिक संजालमा भने आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ । सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ ।
यहाँका माझीहरुको डुँगा प्रयोग गरी टापुमा छिरेपछि उनको हत्या भएको हो । हत्यापछि उनका केही साथीहरुले ‘चाउ सहिद’ भएको भन्दै उनीप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् । उनको हत्यापछि प्रहरीले ६ जना माझीलाई पक्राउ गरेको छ । पक्राउ परेका एक माझीले भने चाउले जबर्जस्ती डुंगा समुद्रमा लिएर गएको प्रतिक्रिया दिएका छन् ।