जघन्य अपराधमा ‘नो कम्प्रोमाइज’ : कोहलपुर प्रहरी

6.64K
shares

नेपालगञ्ज । प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको तीन महिना पुरा हुँदै गर्दा सो क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएका छन् । यस अवधिमा उनले गुण्डागर्दी नियन्त्रणदेखि विभिन्न आपराधिक घटनालाई निर्मुल पार्न सफल भएका छन् ।

लागुऔषध कारोबारको ट्रान्जिट जस्तै मानिन्थ्यो कोहलपुर । कोहलपुरहुँदै सुर्खेतर्फ ओसार–पसार हुने लागुऔषध कारोबारको धन्दा अहिले ठप्प प्रायः भएको छ । इलाका प्रहरी कार्यालयले २०७५ साउन ३० गते मात्र लागुऔषध कारोबारका ३ वटा घटनामा सफलता हाँसिल गरेको थियो ।

‘पछिल्लो तीन महिनाको अवधिमा लागुऔषध कारोबार र सेवनमा संलग्न १६ जनालाई हामीले कानुनी दायरामा ल्याएका छौं,’ ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेश बहादुर सिंह भन्छन्, ‘लागुऔषध कारोबार, गुण्डागर्दीलगायतका अपराध नियन्त्रणमा इप्रका कोहलपुरमा रहेको हाम्रो टिम निर्मम भएर प्रस्तुत भएको छ ।’

पछिल्लो तीन महिनामा इलाका प्रहरी कार्यालय कोहलपुरले ३२ ग्राम ब्राउन सुगर, ५४५ ट्याब्लेट नाईट्रोजेपाम, दुई किलो गाँजा र बायोरेक्स २१ सिसि बरामद गरिसकेको छ ।

जघन्य अपराध : ‘नो कम्प्रमाइज’

कात्तिक ५ गते साँझको करिब ९ बजेको थियो । बैजनाथ गाउँपालिकास्थित गौरा टोलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार उदयराम घर्तिलाई स्थानीय युवाहरुको एक समूहले रक्तमुछेल हुनेगरी कुटपिट गरेका खबर आयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेश सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुलाई राती नै नियन्त्रणमा लिए । ‘प्रहरी राज्यको अंग हो, राज्यको कामका लागि खटिएकामाथि हातपात गर्नेहरुले कदापि छुट पाउँदैनन्’ डीएसपी सिंहले भने, ‘गौराटोलमा ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि आक्रमणमा उत्रने मुख्य अभियुक्तको पहिचान भएको छ, केही दिनमै नियन्त्रणमा लिन्छौं ।’

भदौ ५ गते सोनु अन्सारी एक युवतीसँग नेपालगञ्ज महानगरपालिका–२० राजास्थित निशा होटलमा डेटिङ गएका थिए । उक्त कुराको सुचना पाएपछि त्यहाँ पुगेका प्रहरी जवानहरु ओमप्रसाद आचार्य र जगदिश बोहराले ‘अपहरण, शरीर बन्धक तथा बलात्कार मुद्दा लगाइदिने’ भन्दै धम्क्याएर अन्सारीसँग पाँच लाख नगद असुले ।

‘उक्त होटलमा गएकी युवतीको पनि दुई प्रहरी जवानसँग मिलेमतो भएको देखियो’ डीएसपी सिंहले भने, ‘तीनै जनालाई पक्राउ गरेर मुद्दा चलायौं ।’ अहिले देशभर बलात्कारको फेशन नै चलेको छ, त्यस्तोमा कोहलपुर पनि अछुतो रहेन् । तीन महिनाको अवधिमा कोहलपुर क्षेत्रमा घटेका ७ वटा बलात्कारका घटनामा संलग्न अभियुक्तहरु सबैलाई कोहलपुर प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ ।

श्रीमतीमाथि आँखा लगाउने परपुरुषलाई छुरा

वैदेशिक रोजगारीमा जाने युवाको घर एकपछि अर्को गरी बिग्रन थालेको छ । प्युठान स्थायी घर भई दाङ बस्दै आएका सञ्जीव कुमार थापाको हकमा पनि त्यस्तै भयो । तीन वर्ष वैदेशिक रोजगारीबाट फर्कंदा उनको श्रीमतीलाई ओखलढुंगाका सन्तोष कार्कीले प्रेमको जाल ओछ्याएर आफ्नो बनाइसकेका थिए । सञ्जीव घर फर्कंदा श्रीमती त थिइनन्, अनि उनले तीन बर्षसम्म पठाएको पैसा पनि सन्तोषले हिनामिना गरिसकेका थिए ।

भदौ ५ गते दिउँसो ४ बजे, सञ्जीव ओखलढुंगा पुगे । अनि आफ्नो श्रीमती भगाउने बर्ष २७ का सन्तोषलाई छुरा प्रहार गरे । आवेगमा उनले हानेको छुराका कारण सन्तोषको मृत्यु भयो । कर्तव्य गरी फरार रहेका प्युठान धर्मवती–२ स्थायी घर भई दाङ बस्दै आएका सञ्जीवलाई इलाका प्रहरी कार्यालय कोहलपुरले भदौ ३१ गते पक्राउ गरेर ओखलढुंगा प्रहरीलाई बुझाईसकेको छ ।

त्यस्तै कोहलपुर प्रहरीले असोज २४ गते कोहलपुर बसपार्कस्थित पोखरा गेष्ट हाउसमा बन्धक बनाइएको भारतीय नागरीक नित्य किशोर सिंहलाई उद्दार गरेर अपहरणमा संलग्न मिनबहादुर विक, भीम बहादुर शाही र खगेन्द्र शाहीलाई मुद्दा चलाएको थियो ।

घटना घटेको केही मिनेटमा आफैं घटनास्थल पुगेर रेस्पोन्स गर्ने नीति लिएका डीएसपी सिंहले कात्तिक तेस्रो साता मध्यरातमा राप्ती सोनारी–१ गाभरस्थित थकाली होटलमा हरीबहादर बुढा मगरलाई धारिलो हतियार ९चक्कु० प्रहार गरी मार्ने चिन्तन शाह भन्ने चन्द्रकिरण शाह र गणेश शाहलाई पक्राउ गरेर मुद्दा चलाए ।

हरेक घटनामा छिटो रेस्पोन्स गर्ने सिंहको नीतिका कारण अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत अभियुक्तहरुले भरिएको बताइन्छ । जसका कारण सर्वसाधारण खुसी भएका छन् भने, अपराधीहरुको निद हराम हुन थालेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083