माछा पाल्दै पूर्वमन्त्री गौतम !

वि.सं.२०७५ मंसिर १५ शनिवार १२:३८
shares

दमौली । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशंका हुने गर्दछ। हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन्। निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अंगालेका छन्।
तिनै मध्येका एक हुन् बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बनेका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहेका छन्। डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन शुरु गरेका हुन्। नयाँ शक्ति नेपालका नेता रहेका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताए।
उनले भने, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ। कृषिउद्यम गर्र्नेको सङ्ख्या भने निकै कम छ।” गौतमले राजनीतिपछिको जीवनमा केही काम गर्छु भन्ने लक्ष्य आफूमा पहिलेदेखि नै रहेकाले माछापालन व्यवसाय शुरु गरेको बताए। उनको आफ्नै ११ रोपनी जग्गामा माछापोखरी निर्माण गरिएको छ। उक्त जग्गामा पहिला धानखेती हुँदा वार्षिक रु एक लाख जति आम्दानी हुने गर्दथ्यो।
तर माछापालनबाट भने प्रतिरोपनी वार्षिक रु. एक लाखभन्दा बढी आम्दानी हुने गरेको गौतमले बताए। गौतम कृषि फार्मको सम्पूर्ण रेखदेख गौतमका ठूला छोरा कुलेन्द्र गौतमले गरिरहनुभएको छ। पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले रु. एक लाख ६५ हजार अनुदान दिएको थियो।
माछापालनका लागि तनहुँको हावापानी उत्कृष्ट रहेकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। सजिलो खेती र माछाको बजारका कारण पनि कृषकको माछापालनमा आकर्षण बढेको छ। तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछा पालिने गरिएको छ।