शिकार खेल्न गएका साथीको गोली हानी हत्या
वि.सं.२०७५ मंसिर १८ मंगलवार १४:३७
shares

धरान । करिब १० दिनदेखि घरबाट हराइरहेका धरान १७, उदय टोल (नमस्ते चोक) का एक युवालाई आफ्नै साथीहरुले वनमा शिकार खेल्न जाँदा हत्या गरेको खुलेको छ । नमस्ते चोकका २१ बर्षीय आशिष ठटाललाई उनकै साथीहरुले हत्या गरेर उदय सामुदायिक वन धरान १७ मा शव गाडेको अवस्थामा फेला परेको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आशिषकै ६ जना साथीहरुलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका सबै शिकार खेल्न जंगल गएको प्रारम्भिक वयान र अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । ‘जम्मा ७ जना शिकार खेल्न आएका रहेछन् । त्यसैबेला आशिषको कर्तव्य गरी हत्या गरेको हो । कर्तव्य ज्यान कसरी भयो भन्ने चै खुल्न बाँकी छ,’ डिएसपी तिम्सिनाले भने ।
अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरुले सोमबार जंगलभित्र आशिषको शव गाडेको ठाउँ देखाएका थिए । उक्त ठाउँमा खनेर हेर्दा शवलाई सेतो बोराभित्र हालेर खाल्डो खनी गाडेको अवस्थामा फेला परेको थियो । मृतकका बुबा कुमार ठटालका अनुसार आशिष दुई छोरा मध्ये कान्छा हुन् । करिब १० दिन अघिदेखि आशिष घर फर्किएका थिएनन् । परिवारजनले सबैतिर सोधीखोजी गर्दा पनि फेला नपरेपछि उनका दाजु आमोशले केही दिनअघि प्रहरीमा उजुरी दिएका थिए ।
















