हिंसा न्यूनीकरणका लागि होटल व्यवसायी संवेदनशील हुनुपर्ने
वि.सं.२०७५ मंसिर २३ आइतवार १२:३६
shares

काठमाडौँ । होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौँको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तक्र्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो।
काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले सामाजिक सञ्जालले लैङ्गिक हिंसा बढाएको बताउँदै हिंसा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए। उनले होटल व्यवसायमा हुने विकृति नियन्त्रणका लागि सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिए। बालाजुस्थित महानगरीय प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले महिला बेचबिखनका लागि होटल नै प्रयोग हुने गरेकाले होटलमा आउने हरेक व्यक्तिको स्पष्ट विवरण राख्न आग्रह गरे।
तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले होटल व्यवसायमा देखिएको यस्ता समस्या रोक्न प्रहरीसँग मिलेर काम गर्नुपर्ने र समुदायमा जनचेतना जरुरी रहेको औँल्याए।















