एकसाता देखि हराएका ३ बालिका बुटवलमा भेटिए
वि.सं.२०७५ पुस १६ सोमवार ११:१९
shares

सुर्खेत । सात दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आइतबार बुटवलमा भेटिएका छन् । नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीय यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री बुटवल बसपार्कमा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार आइतबार नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझ्ने गरी पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले तीनै बालिकालाई बुटवल बसपार्कमा भेटाइएको बताउनुभयो ।
उहाँले थप्नुभयो, बुटवल बसपार्कमा ठेलागाडा गर्ने महिलाले दुई दिनसम्म तीनै जनालाई सुरक्षाका साथ माया गरेर राखेको रहेछन् । उहाँका अनुसार शनिबार इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक नीरज चौलागाईंलाई बाँकेको कोहलपुरमा राखिएको सिसी क्यामेराको फुटेज बुभ्mन पठाएपछिको खबर अनुसार उनीहरु बुटवल गएको निश्चित गरिएको थियो । रासस































