एक अपांगता भएका दलित युवा न्यायको खोजीमा
वि.सं.२०७५ माघ २४ बिहीवार ११:२४
shares

आजको आधुनिक समाजमा दलित समुदायप्रति हेर्ने दृष्टिकोण फरक
मुगु । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामरोङ गाउँपालिकाका एक अपांगता भएका दलित युवा न्यायको खोजी गर्दै सदरमुकाम गमगढीमा भौतारिएका छन्। मुगुम कामरोङ गाउँपालिका ६ रिउसका टसी विक न्यायको खोजीमा एक महिनादेखि सदरमुकाम गमगढीमा भौतारिएका हुन्। ३१ वर्षका टसीले आफू दलित भएरै होला न्याय नपाएको र सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन्।
गत पुस २४ गते आफ्नै नाता पर्नेले अपांग हुने गरी कुटपिट गरेका भए पनि पीडित टासीले महिना दिन भइसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन्। उनकी श्रीमती र आमाको भाइबीच पुस ८ गते सामान्य घरायसी झगडा भएको थियो। झगडामा उल्टै विभेदजन्य शब्द बोल्नुका साथै दलित भनेर होच्याएका थिए। त्यही समस्या समाधानका लागि मेलमेलाप गर्न भन्दै गाउँमा भद्र भलादमी बसे तर आफूले न्याय नपाएको उनले दुखेसो गरे। उल्टै भद्र भलादामीले आफूलगायत विपक्षलाई ५ हजारका दरले जरिवना गराए तर न्याय दिलाउन सकेनन्।
त्यसको १५ दिनपछि गएको पुस २४ गते आफूमाथि उनीहरूको पक्षबाट भुमग्याप तामङको योजनामा पेमा साङब्रो कामी, पेमा टुन्डल कामी लगायतकाले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेका थिए। कुटपिट गरेर दायाँ खुट्टाको घुँडाभन्दा तल्लको खुट्टा काम नलाग्ने गरी भाँचिएको उनले बताए। आफूलाई कुटेर अपांग बनाइदिएका भए पनि न्याएको लागि सम्बन्धित निकायमा निवेदन दर्ता गरेको तर आफूले न्याय नपाएको पीडित टसीले गुनासो गरेका छन्।
अहिले सम्म जसो तसो औषधि गरेर बाँचि रहेको छु। २ लाख ५ हजार सम्म खर्च भईसक्यो अझै कति खर्च हुने हो थाहा नभएको उनले बताए। मुगुमा औषधि उपचार हुन नसकेर आफूलाई जुम्ला रिफर गरिएको र अहिले जुम्लामा औषिधि गरिरहेको उनले सुनाए। न्याय पाइन्छ कि भन्ने उद्देश्यका साथ आज भोलि मुगु आएको टसीले बताए। उनले भने, ुगाउँ जाने वातवरण छैन, गाउँबाट धम्की आउने र गाउँ फर्किएर आएमा मार्ने धम्कीले गर्दा गाउँ फकिन सकेको छैन।ु उनले थपे, ुअहिले सदरमुकाम गमगढीमा ३ हजार भाडा तिरेर बसेको छु।
घरमा छोरा छोरीको विचल्ली छ। गाउँ जाने वातावरण छैन। अब कसरी बाँच्ने हो छोरा छोरी श्रीमती लाई कसरी पाल्ने हो भन्दै टसिले गुनासो गरेका छन्। यसैबीच जिल्ला प्रहरी कायलय मुगुले पीडित टसीको निवेदन दर्ता भएको र टसी पुन सम्पर्कमा नआएकाले यो केस लामो भएको स्वीकार गरेको छ। एक पटक दुवै पक्षलाई बोलाई छलफल गराउन खोज्दा टसी सम्पर्कमा नआएकाले जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। तत्काल पीडकलाई सम्पर्कमा ल्याई छलफल गराउने र त्यसैअनुरूप न्याय दिलाउने जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताए।
उनका अनुसार पीडितले न्याय पाउँछ। पीडक उम्किन नपाउने यस्मा ढुक्क रहन पीडितलाई आग्रहसमेत गरे। यता, दलित अधिकारकर्मी धिरज नेपालीले दलित भएरै टसीले समयमै न्याय नपाएको बताए। टसी माथिल्लो जातिको भएको भए समयमै न्याय पाउने तल्लो जाति अझ भनौँ दलित भएरै समयमै न्याय नपाएको गुनासो गरे। उनका अनुसार अझै पनि दलित समाजमा दलित समुदायप्रति हेर्ने दृष्टिकोण फरक रहेको उनको भनाइ छ।































