क्रसर उद्योगीको दादागिरी, टेर्दैनन् जिल्ला समन्वय समितिलाई
वि.सं.२०७५ फागुन ११ शनिवार ११:२७
shares

धनगढी । कैलालीमा अवैध रुपमा धमाधम नदीजन्य पदार्थ उत्खनन हुन थालेपछि क्रसर उद्योगीलाई नियमनको प्रक्रिया बढाइएको छ। यसैबीच ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिको आइतबार बसेको बैठकले ‘सम्पूर्ण क्रसर उद्योगलाई अनुमति पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्य योजनाको कागजसहित ५ दिनभित्र समितिमा बुझाउन’ निर्णय गरेको थियो। तर जिल्लामा सञ्चालनमा रहेका क्रसर तथा घुम्ती क्रसरले सम्पूर्ण विवरणसहितको कागजपत्र बुझाएका छैनन्।
फागुन १० गते अर्थात शुक्रबार समयावधी सकिएपनि समितिमा ४ वटा क्रसर कम्पनीले मात्र विवरण बुझाएको जिल्ला समन्वय समितिका निमिक्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले बताए। उनका अनुसार जिल्लामा १२ वटा क्रसर सञ्चालनमा रहेपनि ४ वटा क्रसरले मात्रै विवरण बुझाएका हुन्। जिल्ला समन्वय समितिमा राजेन्द्र के एस जेभी, हेमकुण्ट स्टोन क्रसर इण्डष्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभीले मात्र कागजपत्र बुझाएका छन्।
राजेन्द्र केएस जेभीले गौरिगंगा नगरपालिकाको झिलमा, हेमकुण्टले गोदावरी नगरपालिका वडा नम्बर ११ बल्मी, बेहडाबाबा क्रसर गोदावरी नगरपालिका वडा नम्बर ८ र नागार्जुन जेभी गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा सञ्चालनमा रहेको छ। शर्मा राजेन्द्र कुमार जेभीले गेटा मेडिकल कलेज, कालिका कुमार जेभीले लम्की नगरपालिका बल्चौरमा घुम्ती क्रसर सञ्चालन गरेका छन्।
यस्तै, गोदावरी नगरपालिका लालपुरमा वेष्टर्न क्रसर उद्योग, गोदावरी नगरपालिका वडा नम्बर ८ हरैयामा श्रीपुर क्रसर उद्योग, लम्की नगरपालिका थलचौरमा तुदी क्रसर प्रालि, लम्की चुहा नगरपालिका चिसापानीमा माझसीन सिताका क्रसर, पथरैयामा कर्णाली क्रसर उद्योग, सुनाफा“टामा चन्द्र बसन्ता क्रसर, लालपुरमा शिवशक्ति बालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् ।
‘थोरैले मात्र कागजपत्र बुझाएका छन्। हामीले अझै कागजपत्र बुझ्ने काम गरिरहेका छौं, निमिक्त समन्वय अधिकारी ओझाले भने, ‘विवरण बुझाएका क्रसरहरू कसरी सञ्चालन रहेका छन्। त्यो समितिको बैठकबाट मात्र जानकारी हुने छ। उनले समितिको बैठकपछि बिना अनुमति सञ्चालनमा रहेका क्रसरहरूलाई बन्द गर्ने वा प्रक्रिया पुर्याउन लगाउने त्यही थाहा हुने प्रतिक्रिया दिए।
































