बुटवलको शङ्करप्लाजामा भएको आगलागीबाट एक करोडको क्षति
वि.सं.२०७५ फागुन १३ सोमवार ११:५९
shares

बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब एक करोडको क्षति भएको छ। आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी पसल जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ।
राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो। आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो।
उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ। पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले सोही पसलबाट आगलागी शुरु भएको हो। बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो।































