गोदामचौर ‘क’ बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष जेल!
वि.सं.२०७५ फागुन १७ शुक्रवार १७:०६
shares

काठमाडौं। ललितपुरमा एक वर्ष पहिले भएको सामूहिक बलात्कार पछि हत्या प्रयास सम्बन्धी घटनाका तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ। न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।
सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए। सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानूनी व्यवस्था छ।
उनीहरू माथि गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो।
माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर विहान बेहोस अवस्थामा तोरी बारीमा फेला परेकी थिइन। उनको एक सातापछि बल्लहोस् आएको थियो। एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन्। पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो। घट्ना भएको १६ महिना पछि पनि उनीको उपचार जारी छ।
































