१२ ग्राम खैरो हिरोइन सहित तीन जना पक्राउ
वि.सं.२०७५ फागुन २० सोमवार १२:४२
shares

झापा। झापामा दुई दिनमा १२ ग्राम लागु-औषध खैरो हिरोइन सहित तीन जना पक्राउ परेका छन्।
झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परे लगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए।
लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइन सहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ। लागुऔषध सहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा मा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।































