सपना देख्ने आँखा, साथ दिने हात — स्व. खेमराज पुन र ओमीकलाको अमर सेवायात्रा

260
shares

बुटवल। जमुना श्रेष्ठलाई पोखराको मणिपाल क्याम्पसमा एमबीबीएसमा नाम निस्किएको दिन उनको मनमा खुसी र डरको मिश्रण थियो। खुसी किनकि सपना पूरा हुने भो। डर किनकि घरमा एक रुपैयाँ थिएन। छात्रवृत्तिको रकम खाना र कोठाभाडामै सकिन्थ्यो। किताब, औजार, शैक्षिक सामग्री यी सबै जुटाउन असम्भव थियो। पढाइ छोड्नुपर्ने अवस्था आइपुगेको थियो।
त्यही बेला कसैले उनको ढोका ढकढकायो बुटवलबाट।

एक चौथाइ कमाइ, असंख्य जिन्दगी
गुल्मीको भार्सेबाट सुरु भएको स्वर्गीय खेमराज पुनको यात्रा बुटवलमा आएर औषधि व्यवसायमा फस्टाएको थियो। राम्रो कमाइ थियो, राम्रो घर थियो। तर मनभित्र एउटा खल्लो भाव सधैं कुरेर बस्थ्यो। पत्नी ओमीकलासँग एक दिन कुरा भयो आफूले कमाएको सबै आफ्नै लागि खर्चनु ठिक हो र?जवाफ दुवैको मनमा एउटै थियो। स्व. खेमराजको ५१औं जन्मदिनमा सन् २०७० मा जन्म भयो खेमओमी पुन कल्याणकारी प्रतिष्ठानको। नियम एउटै कमाइको एक चौथाइ समाजका लागि। कुनै ठूलो घोषणा थिएन, कुनै समारोह थिएन। बस् एउटा संकल्प थियो, र त्यो संकल्पले जमुनाजस्ता नौ जना विद्यार्थीको जीवन बदल्यो प्रत्येकलाई मासिक दस हजार रुपैयाँ र शैक्षिक सामग्री दिँदै एमबीबीएससम्म पुर्‍यायो। “प्रतिष्ठानको सहयोगले पढाइ पूरा गर्न पाएँ,” जमुना आज पनि भावुक हुन्छिन्। अहिले उनी एमडीको तयारीमा छिन्।
स्व. खेमराज बाल्यकालमै बाबु गुमाएर हुर्किए। त्यो पीडा मनमा थियो, तर उनले त्यसलाई कतै पोखेनन् बरु त्यसलाई अरूका लागि शक्तिमा बदले।जन्मस्थान भार्सेमा बाबु मनबहादुर र आमा गौरीको नाममा सात लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष खोले। हरेक वर्ष त्यसबाट विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री बाँडिन्छ। बाबु देखेनन्, तर बाबुको नाम आज अरूको सपनाको कारण बनेको छ।
धेरैले छोराको बिहेमा ठाँटका साथ खर्च गर्छन्। स्व. खेमराज र ओमीकलाले त्यो पैसा जोगाएर दस लाखको राजु सरिता पुन भोजन सहयोग कोष खोले छोराबुहारीकै नाममा ताकि उनीहरूमा पनि यही सेवाभाव जागोस्। परिवारको हरेक खुसीलाई समाजसँग जोड्ने यो सोच विरलै देखिन्छ।स्व. खेमराज पुन अब हाम्रो बीचमा छैनन्। तर ओमीकला पुन प्रतिष्ठानको काम उही लगनका साथ अगाडि बढाउँदै छिन्। किनकि यो केवल एक मान्छेको सपना थिएन यो एउटा दम्पतीको साझा संकल्प थियो, जुन आज पनि कुनै विपन्न विद्यार्थीको किताबमा, कुनै डाक्टरको एप्रनमा, जीवित छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083