राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

वि.सं.२०८२ असार २ सोमवार १८:३८
shares

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा यो व्यवस्था विरुद्ध भन्दा पनि शासन सत्ता सम्हालेका शासकहरूको विरुद्ध हो । ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण अनुसार नेपाल अति भ्रष्टाचार हुने देश भित्र पर्छ । विश्वको १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल १०७ औं स्थानमा छ । विश्वमा आज नेपालको पहिचान अतिभ्रष्ट देश मध्येको एक हो भनेर स्थापित भएको छ।
यो चरम भ्रष्टाचार र बेथितिको जिम्मेवारी प्रमुख राजनीतिक पार्टी र तिनको महत्त्वपूर्ण नेतृत्वहरुले लिनु पर्छ । प्रधानमन्त्री र मन्त्रीको लागी मात्र प्रतिस्पर्धा गर्ने असफल शासकहरूले राजनीति छाड्ने हो भने विरोधमा उत्रने मानिस नहुने मात्र होइन नेपालमा दीपावली र खुसियाली जुलुस हुनेछ ।
आज सरकार स्वयंम जालझेल गरेर टिकाउन पर्ने बाध्यतामा छ । आसेपासेलाई नियुक्ति, सरकारी सेवा सुविधा मात्र दिएर पुगेको छैन । उनीहरूलाई सरकारी स्रोतमा भ्रष्टाचार र अनियमितता गर्न नाइकेको रुपमा खटाइन्छ । वर्तमान समय नेपाली मूलधारको राजनीतिको मुख्य चरित्रनै भ्रष्टाचार, अनियमितता, ठगी, तस्करी बन्न पुगेको छ । विगतका प्रधानमन्त्री देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सम्म नीतिगत भ्रष्टाचार संलग्नता रहेको काण्ड बाहिर आयो । जसको कुनै छानबिन हुने कुरै भएन । भिजिट भिसा प्रकरण देश शक्तिशाली मानिने गृहमन्त्री आफै मुछिएका छन् । शालीन र भद्र स्वभाव पहिचान बनाएका गृहमन्त्री रमेश लेखक भिजिट भिसाको अवैध असुली प्रकरणमा मुछिनुले भ्रष्टाचारमा भद्र नेताहरुको प्रतिनिधित्व मात्र गर्दैन यो व्यवस्थानै भ्रष्टाचार गर्न स्थापित भएको हो भन्ने सन्देश दिन खोजेको भान हुन्छ ।
वर्तमान समय नेपाली मूलधारको राजनीतिको मुख्य चरित्रनै भ्रष्टाचार, अनियमितता, ठगी, तस्करी बन्न पुगेको छ । विगतका प्रधानमन्त्री देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सम्म नीतिगत भ्रष्टाचार संलग्नता रहेको काण्ड बाहिर आयो ।
बाहाल अर्थमन्त्री विष्णु पौडेल स्वयम बालुवाटार ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको पाइयो । एयरपोर्ट सुन तस्करी काण्ड होस् वा पोखरा विमानस्थल निर्माणको कमिसन काण्ड, टेरामस्क घोटला काण्ड सबै प्रकारका घोटला, भ्रष्टाचार र अनियमिततामा मुछिएकाहरु बाट देशको शासन सत्ता ओगट्नुले युवा पुस्तालाई राजनीति प्रति वितृष्णा मात्र होइन यो व्यवस्था र सरकार प्रतिनै घृणा जगाएको छ।
२०७७ जेठ १० गते रुकुमको सोतीमा अन्तरजातीय प्रेमसम्बन्धकै कारण ६ जना युवाको निर्ममतापूर्वक नरसंहार घटनालाई उच्च अदालत सुर्खेतको फैसलामा हत्याकाण्ड जातका आधारमा नभएको स्वार्थप्रेरित फैसला आउनु र २०६४ मा रौतहट जिल्लामा बम विस्फोट घटनामा परेकालाई ज्युँदै इँटाभट्टामा हालेर जलाएर हत्या गर्ने पूर्वमन्त्री तथा कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालतले सफाइ दिनु जस्ता पछिल्लो दुई घटनाले न्यायालयले पीडितलाई न्याय दिने विश्वास प्रति शंका जन्माएको छ ।
भ्रष्टाचार, बेथिति र अराजकताको बिगबिगी भएको अवस्थामा सुशासनको लोकप्रिय नारासहित राजनीतिक पार्टीको रुपमा स्थापित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि रकम मागेको अडियो प्रकरण देखि पार्टीका साभापति रवि लामिछानेको पासपोर्ट, नागरिकता काण्ड हुँदै सहकारी ठगी सम्म आइपुग्दा नयाँ भनिएकाहरुमा पनि पुरानो राजनीतिक संस्कारको पुनरावृत्ती हुनु, स्वतन्त्र भएर निर्वाचित भएका जनप्रतिनिधिहरु बाट पनि संतोषजनक कार्यक्षमता प्रस्तुत हुन नसक्नुले युवाहरूमा चरम निरासा पैदा भएको छ।
युवापुस्ता देशको भविष्य र आर्थिक विकासको मेरुदण्ड हुन् । हरेक वर्ष नेपालको श्रम बजारमा ४ देखि साढे ४ लाख युवा श्रमको लागी योग्य हुन्छन् । अनिश्चित भविष्यको कारण तीमध्ये साढे ३ लाखजसो वर्षेनी बाहिरन बाध्य छन् । दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको जापान कुनै समय त्यहाँका युवाहरूले दिनरात नभनि आफ्नो क्षमता र उर्जालाई देश विकासको लागि सदुपयोग गरेको कारण आज विश्वको शक्तिशालि राष्ट्र बन्न सफल भएको छ। त्यसैगरी भोकमारीको चपेटामा परेको कोरीया आज विश्वभर दिनप्रतिदिन विकासमा फडको मारेको छ। गरिबीको चपेटामा परेको सिङ्गापुरले युवाहरूको उर्जालाई सदुपयोग गरेर गरेको प्रगतिका कारण विश्वमा आज एक उदाहरणीय देश बन्न सफल भएको छ। तर देशमै म काम गर्छु, पसिना बगाउँछु, काम देऊ, उद्यम गर्छु, बीउ पुँजी देऊ, रोजगार बढाउँछु, वातावरण बनाइदेऊ भन्दा पनि सरकार युवालाई अवसर सिर्जना गर्ने कोशिश गर्दैन, बरु प्रधानमन्त्री स्वयं वक्तव्य जारी गर्छन्- ‘व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’ भनेर सरकार आराम गर्छ ।
अमेरिकाको स्वतन्त्र संग्राम, फ्रान्सको राज्यक्रान्ति, अंग्रेज विरूद्धको भारतीय आन्दोलन, रसियाको क्रान्ति, नेपालको २००७ सालको प्रजातान्त्रिक क्रान्ति तथा नेपालको २०६२/२०६३ सालको जनआन्दोलन, होस् वा भखरै बंगलादेशका विद्यार्थीहरुको एक महिनाको विशाल जनप्रदर्शनपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित हुनु परेको होस् वा श्रीलंकामा वागोटाबाया राजापाक्ष देश नै छाडेर भाग्नुपर्ने अवस्था जुनसुकै परिवर्तनकारी कदम युवा शक्तिको कारणले हो भन्ने हेक्का समेत नराखेर सरकार आफै भ्रष्टाचार र भ्रष्टाचारको संरक्षणमा लागी परेको पछिल्लो गतिविधिले युवा पुस्तालाई आन्दोलित हुन अपिल गरेको छ ।