ओझेलमा महिला समावेशिताको मूल प्रश्न
वि.सं.२०८३ जेठ २८ बिहीवार २०:३४
shares

रुपन्देही । रुपन्देही जिल्ला क्रिकेट संघको हालै सम्पन्न निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी महिला सदस्य पदमा प्रतिस्पर्धात्मक निर्वाचनमार्फत विजयी भइन्। यसअघि २०७८ सालमा उनी उक्त पदमा निर्विरोध निर्वाचित भएकी थिइन्। तर यसपटकको निर्वाचनपछि देखिएको बहसले एउटा गम्भीर प्रश्न उठाएको छ, खेलकुद संस्थामा महिलाको प्रतिनिधित्व विस्तार गर्ने विषय किन प्राथमिकतामा परेन ?नेपालको संविधान २०७२ ले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई राज्य व्यवस्थाको महत्वपूर्ण आधारका रूपमा स्थापित गरेको छ। संविधानले महिलाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरेको भए पनि जिल्लास्तरका धेरै खेलकुद संस्थामा महिला नेतृत्व अझै न्यून रहेको अवस्था छ। रुपन्देही जिल्ला क्रिकेट संघको वर्तमान कार्यसमितिमा पनि एक जना मात्र महिला प्रतिनिधित्व रहेको छ। खेलकुद क्षेत्रका जानकार तथा महिला अधिकारका पक्षधरहरूले लामो समयदेखि कार्यसमितिमा कम्तीमा चार जना महिला प्रतिनिधित्व हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। तर निर्वाचनपछि यो विषयमा व्यापक बहस हुनुपर्ने ठाउँमा चर्चा भने उमा अधिकारीको व्यक्तिगत उम्मेदवारीमै सीमित भयो।
खेलकुद क्षेत्रसँग उमा अधिकारीको सम्बन्ध भने कुनै नयाँ विषय होइन। उनी लामो समयदेखि खेलकुद गतिविधिमा सक्रिय रहँदै आएकी छन्। सन् २०१८ मा भारतको कोलकातामा आयोजित तेस्रो इन्डिया टीआईए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीको टिम म्यानेजरका रूपमा उनले भूमिका निर्वाह गरेकी थिइन्। त्यस प्रतियोगितामा नेपाली खेलाडीहरूले पदक जितेर देशको प्रतिष्ठा बढाएका थिए। त्यसको एक वर्षपछि सन् २०१९ मा जापानको ओसाका, साकाइ सिटीमा सम्पन्न १७औँ वाटा ओपन इन्टरकन्टिनेन्टल तेक्वान्दो च्याम्पियनसिपमा पनि उनी नेपाली टोलीसँगै सहभागी भइन्। सो प्रतियोगितामा भैरहवाका खेलाडी विनोदले ७४ केजी तौल समूहमा तथा जुनियर खेलाडी सिद्धिविक्रम शाहीले ४८ केजी तौल समूहमा कांस्य पदक जितेका थिए। त्यही वर्ष भारतको नयाँदिल्लीस्थित तलकटोरा इन्डोर स्टेडियममा सम्पन्न पहिलो पीएजी ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा समेत उनले व्यवस्थापकीय भूमिका निभाएकी थिइन्।
खेलकुद प्रशासनमा उनको संलग्नता पनि लामो छ। २०७१ सालमा राष्ट्रिय खेलकुद परिषद्, जिल्ला रुपन्देहीको सदस्यका रूपमा उनले काम सुरु गरेकी थिइन्। त्यसपछि २०७४ सालमा राखेप प्रदेश सदस्यमा मनोनित भइन् भने २०७७ सालमा भैरहवा तेक्वान्दो क्लबको संस्थापक सदस्यका रूपमा सक्रिय भइन्। २०७८ सालमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएसँगै उनी रुपन्देही जिल्ला क्रिकेट संघमा पनि निर्विरोध निर्वाचित भएकी थिइन्। हालको निर्वाचनमा भने प्रतिस्पर्धाबाट पुनः निर्वाचित भएकी हुन्।निर्वाचनपछि सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक वृत्तसम्म उमा अधिकारीको उम्मेदवारीबारे विभिन्न टिप्पणी भए। तर खेलकुद क्षेत्रका सरोकारवालाहरूका अनुसार वास्तविक बहस भने क्रिकेट संघभित्र महिलाको सहभागिता कसरी बढाउने भन्ने विषयमा हुनुपर्ने थियो। उनीहरूको तर्क छ, एउटी महिलाले महिला सदस्य पदमा उम्मेदवारी दिनु वा निर्वाचित हुनु कुनै विवादको विषय होइन। बरु प्रश्न त त्यो हो, जब एउटा जिल्ला क्रिकेट संघको कार्यसमितिमा महिलाको प्रतिनिधित्व एक जनामा सीमित रहन्छ र त्यसबारे संस्थागत रूपमा गम्भीर बहस नै हुँदैन।
नेपालमा महिला क्रिकेटको विस्तार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। जिल्ला र प्रदेश तहमा महिला खेलाडीहरूको संख्या वृद्धि भइरहेको छ। प्रशिक्षक, व्यवस्थापक र खेलकुद प्रशासकका रूपमा पनि महिलाहरूको सहभागिता विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा क्रिकेट संघजस्ता संस्थाका निर्णयकारी तहमा पनि महिलाको उपस्थिति बढाउनुपर्ने मागलाई धेरैले स्वाभाविक र समयसापेक्ष मानिरहेका छन्। उनीहरूका अनुसार महिला सहभागितालाई केवल प्रतीकात्मक उपस्थितिमा सीमित नराखी नीतिगत रूपमा सुनिश्चित गर्न आवश्यक छ।खेलकुद विश्लेषकहरू भन्छन्, कुनै पनि संस्थामा समावेशी प्रतिनिधित्व केवल कानुनी बाध्यता मात्र होइन, संस्थागत विकासको आधार पनि हो। निर्णय प्रक्रियामा विविध समूहको सहभागिता हुँदा संस्थाले व्यापक दृष्टिकोण प्राप्त गर्छ र नीति निर्माण पनि थप सन्तुलित बन्न सक्छ। त्यसैले रुपन्देही जिल्ला क्रिकेट संघको निर्वाचनले व्यक्तिविशेषको उम्मेदवारीभन्दा पनि खेलकुद प्रशासनमा महिला सहभागिता र नेतृत्वको विषयलाई केन्द्रमा ल्याउनुपर्ने उनीहरूको धारणा छ। यस अर्थमा हेर्दा उमा अधिकारीको पुनःनिर्वाचन केवल एउटा निर्वाचन परिणाम मात्र होइन, खेलकुद संस्थामा महिलाको प्रतिनिधित्व, अवसर र नेतृत्वबारे गम्भीर बहस सुरु गर्ने एउटा अवसरका रूपमा पनि हेरिएको छ। अब प्रश्न एउटी महिला निर्वाचित भइन् वा भइनन् भन्ने होइन, बरु खेलकुदका निर्णयकारी संरचनामा महिलाको उपस्थिति कति प्रभावकारी र पर्याप्त छ भन्ने हो। यही प्रश्नको उत्तर खोज्नु नै रुपन्देही क्रिकेटको आगामी बहसको मुख्य विषय बन्न सक्ने देखिन्छ।































