बसका साहु र नेपाली सेनाका अमलदारसहित ४ मृतकको सनाखत
वि.सं.२०८३ जेठ २९ शुक्रवार २१:३०
shares

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ४ जनाको सनाखत भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार मृत्यु हुनेमध्ये बसका साहु रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर झाक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारीको पहिचान खुलेको छ।
यस्तै, दुर्घटनामा ज्यान गुमाउने अन्य दुई जनाको पनि सनाखत भएको छ। उनीहरू रोशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ र रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्य चार मृतकको पहिचान खुल्न बाँकी रहेको छ। मृतकहरूको सनाखत र घटनाबारे थप विवरण संकलन भइरहेको छ।
दुर्घटनामा घाइते भएका १६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिए।
शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार अर्को बसलाई साइड दिने क्रममा बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































