कमजोर टिमसँग पराजित हुँदा खेल्नै छाड्दिउँ जस्तो लाग्छ : स्ट्राइकर ‘नवयुग श्रेष्ठ’
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ११:४८
shares

झापा । ‘एउटा गेम हार्दा कस्तो फिल हुन्छ ?’ झापाका जुनियर फुटबलर अभिषेक श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई सोधे ।
उनको प्रश्न पूरा हुन नपाउँदै नवयुगले जवाफ फर्काइहाले, ‘कहिले काहीँ कमजोर ठानिएको टिमसँग पनि पराजय भोग्नुपर्छ । अपेक्षा अनुसारको रिजल्ट नआउँदा खल्लो महसुस त स्वभाविक रुपमा हुने भइ नै हाल्यो । खेल्न छोड्दिउँ जस्तो पनि लाग्छ ।’
उनले अगाडि थपे, ‘कतिपयले त खेल्न छोड्छन् पनि । तर, खेलमा हार जित त स्वभाविक नै हो ।’
अभिषेक जस्तै अन्र्तराष्ट्रिय पदक विजेता खेलाडीसँग झापाको काँकरभिट्टामा भएको अन्तर संवादमा नवयुग खुलेरै प्रस्तुत भए । उनले सहभागी खेलाडीहरुलाई हौस्याउँदै एउटा खेल हार्दैमा निराश बन्नु नहुने सुझाए ।
निरन्तरको अभ्यास र संघर्षबाट सफलता प्राप्त हुने भन्दै श्रेष्ठले हारको कारण पत्ता लगाएर मेहनतका साथ अर्को गेमको तयारीमा जुट्न आफ्ना फ्यान सल्लाह दिए । एक दिवशिय अन्र्तक्रियाका क्रममा नवयुगले झैं नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी रौतहटकी अनु लामाले पनि सहभागी समक्ष आफ्ना संघर्षका कथाहरु सुनाइन् ।
‘केटी किन आको ? केटीले खेलेर के हुन्छ ?’ एक सहभागीले उनलाई सोधिहाले ।
जवाफमा अनुले भनिन्, ‘मेरो फुटबल करियरमा अहिलेसम्म यस्तो प्रश्न कसैले पनि गरेनन् । नेपालमा सर्वाधिक खेलिने र रुचाइएको खेल पनि हो फुटबल । त्यसैले होला सायद बच्चैदेखि मलाई रुची भो । त्यो बेला त यस्तो प्रश्न आएन । अब त झन् के आउला र ?’
अन्र्तक्रियाको मुख्य आकर्षणका रुपमा रहेका नवयुग र अनुलाई सहभागी जुनियर खेलाडीहरुले करियरको अब्जेक्सनलाई कसरी फेस गर्नुभयो ? तपाईंको रोल मोडल को हो ? बेस्ट स्ट्राइकर बन्न के गर्नुपर्छ ? पेनाल्टी मिस गर्दाको फिलिङ्स ? लगायतका प्रश्न गरेका थिए ।
अन्र्तराष्ट्रिय पदक प्राप्त खेलाडीहरु इलामका नवयुग र अनुसंग जुनियर खेलाडीहरुको साक्षात्कार गर्ने अवसर युवा तथा खेलकुद मन्त्रालयले जुराएको हो । जिल्ला खेलकुद विकास समिति झापाले संयोजन गरेको एक नम्बर प्रदेशस्तरीय अन्र्तक्रियामा पूर्वका ६ जिल्लाका जुनियर खेलाडी र अफिसियल गरी ४० जनाले भाग लिएका थिए ।
त्यसक्रममा झापासहित मोरङ्ग, सुनसरी, धनकुटा, इलाम र उदयपुरबाट भेला भएका खेलाडीहरुसँग नवयुग र अनुले फुटबल खेल जिवनका अनुभव अनुभूति साटासाट गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।















