‘ए’ डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी

4.8K
shares

काठमाडौँ । अन्जन विष्टले दोस्रो हाफमा गरेको पेनाल्टी गोलको मद्दतमा मनाङ मर्स्याङ्दीले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बुधवार जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

मनाङ यस सिजन लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो। एन्फा कम्पलेक्समा मनाङले ललितपुरको क्लब जावलाखेललाई १-० ले हरायो। जावलाखेलका खेलाडीले अफिज ओलवालेलाई फल गरेपछि मनाङले ६२औँ मिनेटमा पेनाल्टी पायो। त्यसमा अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। त्यही गोल निर्णाक हुँदा मनाङले ३ अंक जोडेको हो।

जावालखेल विरुद्ध गोल गरेपछि अन्जन जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडी छन्। उनले ६ खेलबाट ५ गोल गरेका छन्। जितपछि ६ खेलबाट १८ अंक जोडेको मनाङले दोस्रो स्थानको संकटा क्लबसँग ३अंकको स्पष्ट अग्रता बनाएको छ भने उपाधि दाबेदारी बलियो समेत बनाएको छ।

जावलाखेल भने ६ खेलबाट ४ अंकसहित ११औँ स्थानमा यथावत छ। लिग अन्तर्गत आज हिमालयन शेर्पा र च्यासल युथ क्लब तथा थ्री स्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ।