भारतीय क्रिकेट टोलीलाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई
वि.सं.२०७५ पुस २४ मंगलवार १४:५२
shares

एजेन्सी । पाकिस्तानी प्रमानमन्त्री इमरान खानले भारतीय क्रिकेट टोलीलाई बधाइ दिएका छन्। सोमबार इतिहासमै पहिलो पटक अष्ट्रेलियाको घरेलु मैदानमा भारतले अष्ट्रेलियालाई टेस्ट क्रिकेटमा पराजित गरेपछि भारतमा यतिबेला हर्ष र उल्लास छाएको छ।
७१ वर्षे इतिहासमा भारतको ऐतिहासिक सफलतामा कप्तान विराट कोहली नायक बने। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कप्तान विराट कोहलीसहित सम्पूर्ण भारतीय क्रिकेट टोलीको नाममा बधाइ दिएका हुन्। मंगलबाट इमरानले ट्वीटमा भनेका छन्,‘टेस्ट सिरिजमा अष्ट्रेलियाको घरेलु मैदानमा ऐतिहासिक जित निकाल्न सफल भएकोमा विराट कोहली सहित सम्पूर्ण राष्ट्रिय क्रिकेट टोलीलाई बधाई छ।’

इमरान खान पूर्व पाकिस्तानी क्रिकेटर हुन्। उनले पाकिस्तानी क्रिकेटको कप्तानी समेत सम्हालेका थिए। दशकौंदेखि पाकिस्तान र भारतबीचको सम्बन्ध प्रगाढ हुन सकेको छैन। धर्म तथा सिमानाको विषयमा बारम्बार दुवै देश विवादमा उत्रने गर्दछन्।
तर गत वर्षदेखि पुराना परिदृश्य परिवर्तन हुने क्रममा छ। गत वर्ष इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेयता उनले भारतसँगको सम्बन्ध सुधारको प्रयासलाई निरन्तरता दिएका छन्। सम्बन्ध सुधारको प्रयत्न स्वरुप उनको यस शुभकामनालाई पनि हेरिएको छ।


























