रोहितको सम्झौता थप, सन्दीपको दोस्रो खेल बुधबार
वि.सं.२०७५ पुस २५ बुधवार १५:४५
shares

काठमाडौँ। इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ। रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो। रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए।
पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो। पोर्सिजाको प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ। विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजा क्लबका लागि आवश्यक भएको उल्लेख गरिएको छ।
रोहित अहिले बिदा मनाउन नेपालमा छन्। सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन्। सन् २०१७ पेर्सिजनामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए। एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यावसायिक फुटबल खेल्न थालेका हुन्। मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए।
सन्दीपको दोस्रो खेल बुधबार
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन्। लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो। बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहो¥याउने लक्ष्यमा छन्। अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग ९बिपिएल० खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए। रासस




























