बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति

6.31K
shares

काठमाडौं । वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ। व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखरामा पनि बिहीबारदेखि सुचारु हुने भएको छ।

विभागले पोखराको श्रम तथा रोजगार कार्यालय सहिद चोकबाट व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको लागि आफूहरुले तयारी गरिरहेको विभागका कम्प्युटर अधिकृत राजु श्रेष्ठले डिसी नेपाललाई जानकारी दिए। श्रेष्ठले बिहीबारदेखि कार्यालयमा श्रम स्वीकृतिको काम नियमित सुचारु गर्ने गरी कर्मचारीलाई तालिम उपलब्ध समेत गराइरहेको बताए।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिन घण्टौँ लाईन बस्नुपर्ने समस्यालाई मध्य नजर गर्दै सेवाग्राहीको सहजताका लागि सातैवटा प्रदेशबाट श्रम स्वीकृतिको काम सुचारु गरिने मन्त्रालयले बताउँदै आएको छ। बिहीबारदेखि श्रम कार्यालय सहिदचोकबाट सेवा उपलब्ध गराउने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र श्रम सचिव महेशप्रसाद दाहाल पनि पोखरा जाने कार्यक्रम रहेको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए।

त्यस्तै बिहीबारदेखि पोखरामा प्रधानमन्त्री रोजागर कार्यक्रमका सन्दर्भमा गण्डकी प्रदेशको प्रदेश र स्थानीय तहसँग २ दिने अन्तक्रियात्मक गोष्ठी समेत आयोजना हुने खनालले बताए।


divya collage
unigloble collage