‘३ वर्षभित्र काठमाडौंमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन्छ’ : खेलकुदमन्त्री विश्वकर्मा

4.23K
shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन्।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएका हुन्। त्यसका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ।

सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको छ। मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिए।

उनले खेल प्रशिक्षक लगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए। विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि बताए।

सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरेको छ। समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निश्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराए। उनले प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मार्ने पनि स्पष्ट पारे।विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083